आजै फुट्नसक्छ सत्ता गठबन्धन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई २४ घण्टे अन्तिमेतम दिएपछि सत्ता गठबन्धन दुर्घटनाको संघारमा पुगेको छ । बालुवाटारमा बिहीबार साँझ भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलका क्रममा प्रचण्डले शुक्रबारसम्मको अल्टिमेटम दिएका थिए ।
प्रचण्डले शुक्रबारसम्म जवाफ दिन भनेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट नेताहरूसँग छलफल थालेका छन् ।
अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई एक दिने अल्टिमेटम दिएका छन् ।
उता प्रचण्डले प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउने निर्णय गरेको खण्डमा कांग्रेसको इतर समूहले भने निर्णय नमान्ने तयारी गरेको छ । बालुवाटार स्रोतका अनुसार प्रचण्डको अडानमा देउवाले सहमति नजनाएपनि बाध्यतामा भने परेका छन् ।
बैठकमा प्रचण्डले गठबन्धनबाट कांग्रेसले सरकार चलाइसकेकोले अब आफूले पालो पाउनुपर्ने बताएका थिए । पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेका हुन् ।
देउवाले भने प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए । शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाको भनाइ छ ।
तर, कांग्रेसले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरे विकल्पमा जाने संकेत प्रचण्डले गरेका छन् । कांग्रेस नेताहरूलाई शुक्रबारसम्म निर्णायक जवाफ दिन प्रचण्डले आग्रह गरेको उनको प्रमुख स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।