गठबन्धन गर्दा सबैभन्दा बढी फाइदा माओवादीलाई, यस्तो छ डाटा - Himal Post Himal Post
  • १२ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 25 2025
Logo

गठबन्धन गर्दा सबैभन्दा बढी फाइदा माओवादीलाई, यस्तो छ डाटा



स्थानीय निर्वाचनमा भएको सत्तारुढ दलको तालमेलबाट नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी लाभ लिएको नेपाली कांग्रेसको निश्कर्ष छ।

कांग्रेस नेता प्रदीप पौडेल संयोजक रहेको मुल्यांकन उपसमितिको प्रवेदन अनुसार माओवादी केन्द्रले जितेका १२१ पालिका मध्ये ६९ वटा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको भोट मद्दतले जितेको हो। यसको अर्थ ती दलहरूको भोट नपाएको भए माओवादी ५२ पालिका प्रमुखमा सीमित हुने थिए।

पाँच दलीय गठबन्धनले यसपटक ३२४ पालिकामा तालमेल गरेको थियो। जसमध्ये ८१ प्रमुख माओवादी भागमा परेको थियो। जसमध्ये ६९ वटामा माओवादीले जित हासिल गरेको हो।

गठबन्धनबाट सबैभन्दा कम लाभ उठाउने पार्टी बनेको छ, जसपा। जसपाले तालमेल गरेर ३ वटा पालिका प्रमुखमा उम्मेदवारी दिएको थियो। जसमध्ये २ वटामा मात्रै उसले जित हासिल गर्यो। जसपाको भागमा परेको जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसकै बागी उम्मेदवार मनोज साह निर्वाचित भए।

गठबन्धनबाट २०९ पालिका प्रमुखमा उम्मेदवारी दिएको कांग्रेसले १२८ पालिकामा जित निकाल्यो। एकीकृत समाजवादीले २७ स्थानमा तालमेल गरे पनि १३ स्थानमा मात्रै सफलता प्राप्त गर्यो। त्यस्तै ४ पालिकामा प्रमुखमा उम्मेदवारी दिएको जनमोर्चाका सबैले जिते।

कांग्रेसले ८५ वटा उपप्रमुख गठबन्धनबाट जित्दा माओवादीले ७९ जित्यो। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा प्रतिवेदनको सुझाव छ– “गठबन्धनको औचित्य कुनै राजनीतिक शक्तिलाई निस्तेज पार्ने भन्दा पनि राजनीतिक क्रान्तिमार्फत प्राप्त उपलब्धीको रक्षा गर्दै समुन्नत राष्ट्र निर्माणमा वैचारिक प्रतिस्पर्धा अंगाल्दै रणनीतिक रुपमा साझा संकल्प सहित उद्धेश्य प्राप्तिका लागि अघि बढ्नुपर्ने देखिन्छ।”