सत्ता गठबन्धनको बैठक कर्मकाण्ड मात्रै
काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक निष्कर्षविहीन भएको छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो।
मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदलको प्रतिवेदन समेतको आधारमा छलफललाई तिव्रता दिइएको भएपनि बैठकमा सहमति भने हुन सकेन ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले छलफल जारी रहेको र सहमतिको नजिक पुगिएको बताए ।
‘छलफल जारी छ । हामी सहमतिको धेरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रुपमा सार्वजनिक मात्रै गर्न बाँकी छ’, ‘भोलि पनि बैठक जारी रहनेछ । चाँडैनै टुंगो लाग्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु’ कार्कीले भने ।
उनले गठबन्धनभित्र कुनै समस्या नरहेको र सहमतिकै आधारमा सिट बाँडफाँट टुंगो लगाइने दाबी गरे ।