ग्यास आक्रमणमा परी कम्तिमा ७० जनाको मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ग्यास आक्रमणमा परी कम्तिमा ७० जनाको मृत्यु



गुटा– सिरियाको पूर्वी गुटास्थित डोमामा भएको रासायनिक ग्यास आक्रमणमा परी कम्तिमा ७० जनाको मृत्यु भएको छ। उद्धारकर्ता तथा चिकित्सकको टोलीले घटनास्थलमा घाइतेको संख्या धेरै भएकोले मृतकको संख्या बढ्नसक्ने अनुमान गरेका छन्।

स्वयमसेवक उद्दार बल ‘ह्वाइट हेलेमेट्स’ले एक ट्विट गर्दै घटनास्थलमा मृतकको शव यत्रतत्र छरिएको अवस्थामा रहेको बताएको छ। रिपोर्टका मुताबिक हालसम्म मृतको सनाखत हुन सकेको छैन।सो आक्रमण कसले गराएको हो भन्नेमा पनि हालसम्म यकिन हुन सकेको छैन।

सिरियाली सरकारले भने उक्त रासायनिक ग्यास आक्रमण गराएको आरोप सरासर झुटो भएको टिप्पणी गरेको छ।

उता अमेरिकी राज्य विभागले प्राप्त भएका फरक–फरक रिपोर्टका आधारमा अनुगमन भइरहेको र यदि प्राणघातक रासायनिक ग्यास आक्रमण नै भएको पुष्टि भएमा सिरियाली सरकारलाई सघाउँदै आएको रुसले सो जिम्मेवारी लिनुपर्ने बताएको छ।

गुटा मिडिया सेन्टरले भने घटनामा ७५ जनाको मृत्यु भएको अन्य १ हजार भन्दा बढी मानिस प्रभावित भएको भन्दै ट्विट गरेको छ। उसले सरकारी सेनाले हेलिकप्टरबाट ‘सारिन’ नामको प्राणघातक ग्याससहितको बम खसालिएको आरोप लगाएको छ।

सिरियाली अस्पतालहरुमा सहयोग पुर्याउँदै आएको संयुक्त राष्ट्रसंघ मातहतको चिकित्सा सहायता संगठनले दमास्कस ग्रामीण विशेष अस्पतालमा मात्रै ७० जनाको मृत्यु भएको जनाएको छ।

रातको समयमा आक्रमण भएका कारण सो संगठनका प्रवक्ताले घटनामा करिब १ सय ८० भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।

यसअघि पूर्वी गुटामा सन् २०१३ को अगस्टमा भउको रासायनिक ग्यास आक्रमणमा परी १ सय जनाको मृत्यु भएको थियो। गत वर्षको अप्रिलमा पनि खान सेइखुनमा भएको यस्तै आक्रमणमा ८० जनाभन्दा बढीले ज्यान गुमाएका थिए।

यस्ता घटनामा प्राणघातक ‘सारिन’ ग्यासको प्रयोग भएको राष्ट्रसंघले पुष्टि गरेपनि सिरियाली सेनाले भने विद्रोही लक्षित भनिएको आक्रमणमा त्यस्तो ग्यासको प्रयोग गरेको अस्विकार गर्दै आएको छ।