अब फोहर नछुट्याए पाँच सय जरिवाना गरिने - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

अब फोहर नछुट्याए पाँच सय जरिवाना गरिने



काठमाडौं- काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको छ।

महानगरको वातावरण तथा कृषि विभागले बिहीबार सूचना निकालेर साउन १ देखि फोहोरको पृथकीकरण गर्न महानगरवासीलाई आग्रह गरेको हो।

साउनदेखि अब कुहिने र नकुहिने फोहोर अलग अलग दिन उठाउने जनाएको छ। प्रचलित कानूनअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरणमा जोड दिएको महानगरले जनाएको छ।

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्ने महानगरले स्पष्ट पारेको छ। घरमै फोहोर नछुट्याए फोहोर संकलन नगर्ने सूचनामा भनिएको छ।

दुवै प्रकारका फोहोर एकै ठाउँमा मिसाए कारबाहीस्वरूप कानून अनुसार प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने चेतावनी महानगरले दिएको छ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा (थ) अनुसार कसुर मानिने बताइएको छ।