अफगानिस्तानका पूर्वराष्ट्रपति गनीले मागे माफी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अफगानिस्तानका पूर्वराष्ट्रपति गनीले मागे माफी



काठमाडौं । अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् ।

यूएईमा शरण लिइरहेका गनीले बुधबार ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् । तालिबान लडाकुले गएको अगस्ट १५ तारिखमा काबुल कब्जा गरेसँगै गनीले देश छोडेका थिए ।

विज्ञप्तिमा गनीले अफगानिस्तानका ‘जनतालाई त्याग्ने अभिप्राय कहिल्यै थिएन’ भनेका छन् । उनले आफ्नो कार्यकाल पनि स्थिरता र समृद्धि सुनिश्चित नगरी पूर्ववर्तीको जस्तै दुःखान्त भएको भन्दैै पश्चताप व्यक्त गरेका छन् ।

“काबुल छोड्नु मेरो जीवनकै सबैभन्दा कठिन निर्णय थियो,” उनले लेखेका छन् । तर, लडाइँ रोक्न यो मात्रै एउटा उपाय भएको उनको भनाइ छ । उनले भने, “काबुल र ६० लाख नागरिकलाई सुरक्षित राख्न यो मात्रै एउटा उपाय थियो ।”

पूर्वराष्ट्रपति गनीले लाखौँ डलर लिएर भागेको भनी आफूमाथि लागेको आरोपलाई ‘पूर्णतया मिथ्या’ भन्दै अस्वीकार गरेका छन् ।

उनले आफ्नो अभिव्यक्तिको सच्चाइलाई प्रमाणित गर्न संयुक्त राष्ट्रसंघ (यूएन)को मातहतमा अथवा अरू कुनै स्वतन्त्र निकायको आधिकारिक लेखापरीक्षण अथवा वित्तीय अनुसन्धानलाई स्वागत गर्ने बताएका छन् । आफ्नानिकट सहयोगीहरू पनि सार्वजनिक लेखापरीक्षणको लागि तयार रहेका उनको भनाइ छ ।