घोराहीको कारागारमा कैदी बन्दीबीच ग्याङ फाइट ,५ जना घाइते - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

घोराहीको कारागारमा कैदी बन्दीबीच ग्याङ फाइट ,५ जना घाइते



दाङ – घोराहीमा रहेको कारागारमा कैदी बन्दीबीच ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा चोट लागेको ।

कुटाकुटका क्रममा एकजनाको हात भाँचिएको कारागार शाखाले जनाएको छ । शुक्रबार दिउँसो २ बजेतिर झडप भएको थियो । घाइते चारजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । एकजना घाइतेको कुमको हड्डी भाँचिएपछि उपचारका लागि प्रतिष्ठानमै राखिएको छ ।

कारागारका नाइके र कैदीबन्दीबीच आन्तरिक व्यवस्थापनमा कुरा नमिल्दा झडप भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । भाइ नाइकेले कैदी बन्दीहरुलाई समान व्यवहार नगरेको भन्दै विवाद भएपछि झडपमा परिणत भएको बताइएको छ । नाइकेले समान व्यवहार नगरेपछि कुटाकुट भएको हो ।

नाइकेले समान व्यहार नगर्ने, सेवा सुविधा उपभोगमा विभेद गर्ने गरेको भन्दै पीडितहरुले समूह बनाएर झडपमा उत्रेका हुन् । कारागार ऐन २०१९ अनुसार जघन्य अपराध नगरेको, निश्चित कैद भुक्तान गरेको र आचरण राम्रो भएका कैदीलाई नाइकेको जिम्मेवारी कारागार प्रशासनले दिने गर्छ ।

यसैबीच कैदीबन्दीबीच भएको कुटाकुटको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले तीन सदस्य समिति गठन गरेको छ । प्रशासकीय अधिकृत अमरराज शर्माको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसहित तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिले ३ दिन भित्र घटनाको छानबिन गर्ने म्यान्डेट पाएको छ ।

हाल घोराही कारागारमा तीन सय भन्दा बढी कैदीबन्दी बस्दै आएका छन् । ७० जना क्षमताको कारागारमा अहिले तीन सय १७ जना कैदी बन्दी रहेका जेलर विष्णु पाण्डेले बताए ।