गण्डकी प्रदेशमा पनि गठबन्धनका तीनैजना उम्मेदवार विजयी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गण्डकी प्रदेशमा पनि गठबन्धनका तीनैजना उम्मेदवार विजयी



काठमाडौं– गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका कमला पन्त र नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनार विजयी भएका हुन्। गण्डकीमा एकीकृत समाजवादीका उम्मेदवार थिएनन्।

गठबन्धनका उम्मेदवारले एमालेका पुण्यप्रसाद पौडेल, लीला पोखरेल थनेट र गोविन्दबहादुर नेपालीलाई पराजित गरे।

निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको थियो। अधिकांश क्षेत्रको मतपरिणाम आइसकेको छ। आज रातिसम्म सबै प्रदेशको नजिता आइसक्ने आयोगले जनाएको छ।

१९ पदका लागि सातै प्रदेशमा भएको मतदानमा ४३ जना प्रतिस्पर्धी थिए। सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएका थिए। एमाले र लोकतान्त्रिक समाजवादीले प्रदेश २ मा गठबन्धन गरेका थिए। अन्यत्र एमाले एक्लै उभिएको छ।

२०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित सांसदहरुमध्ये २० जनाको कार्यकाल ४ वर्षे कायम भएको थियो। तीमध्ये १९ जनाको स्थान पूर्तिका लागि आज मतदान भएको हो। एक जना भने राष्ट्रपतिले मनोनित गर्नेछिन्।