जेठानलाई मन्त्री बनाउन भाग मागेकोबारे के भने चोलेन्द्रले ?
काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाललाई राजीनामा गराउन लगाएको स्वीकार गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका नेताहरूले आफ्नो कुरा नमानी हमाललाई मन्त्री नियुक्त गरेकोले राजीनामा गराउन लगाएको उनले स्वीकार गरेका हुन् ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको मंगलबारको बैठकमा जबराले हमाललाई मन्त्री बनाउनु पहिला र मन्त्री बनाएपछि कार्यकारी प्रमुखका साथै राजनीतिक दलका नेताहरूसँग छलफलमा रहेको बयान दिएका हुन् ।
सञ्चारमाध्यममा प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको र त्यसरी मन्त्री हुने व्यक्तिहरूको नाम नै उल्लेख गरिएको प्रकाशित भएपछि आफू प्रधानमन्त्री र गठबन्धनका नेताहरूसँग छलफलमा रहेको उनले स्वीकार गरेका हुन् ।
‘पत्रपत्रिकाहरूमा प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग माग्यो र फलानो-फलानो मन्त्री हुँदैछ भनेर आयो । त्यो कुरालाई मैले विज्ञप्तिमार्फत गलत हो, यो होइन भनेर निकाले । त्यसपछि हाम्रो एउटा न्यायाधीश समाजको वार्षिक मिटिङ थियो त्यसमा पनि यस्तो किसिमको (समाचार) आयो, शंका नगर्नुस्, यो झुट्टा छ भनेर मैले भनेँ । त्यसपछि यो प्रश्नहरू निरन्तर आयो । आइसकेपछि सार्वजनिक भएको नामको नै मन्त्री हुँदैछ भन्ने आयो । मन्त्री बनाइँदैछ भन्ने नाम आयो । जुन नाम आएको छ त्यो नामलाई प्रधानन्यायाधीशसित टाँसिसक्यो,’ उनले भने, ‘त्यो व्यक्तिलाई मन्त्री बनाउनु हुँदैन, नबनाइयोस् भनेर तत्कालै मैले… अब धेरै यसमा जान्न । सम्बन्धित पदाधिकारीलाई प्रधानमन्त्री…, जसले मन्त्री नियुक्त गर्ने हो, मन्त्री नियुक्त गर्ने ठाउँमा भएका पदाधिकारीहरू हुनुहुन्थ्यो अहिलेको गठबन्धनमा उहाँहरूलाई हार्दिकतापूर्वक अनुरोध गरे तर पनि भयो । भएपछाडि त्यो भोलिपल्ट शनिबारको दिन थियो, मैले फेरि पनि भने यसले त समस्या पैदा भयो नि ! भनिसकेपछि उहाँले राजीनामा दिएर जानुभएछ ।’
जबराका जेठान नाता पर्ने हमाललाई असोज २२ गते शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्री नियुक्त गरेका थिए । सार्वजनिकरूपमा र सत्तारुढ गठबन्धनमा नै विवाद भएपछि हमालले २४ गते बिहानै राजीनामा गरेका थिए ।