मासुको पोष्टरमा गाईको चित्र राख्नेलाई कारवाहीको माग - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

मासुको पोष्टरमा गाईको चित्र राख्नेलाई कारवाहीको माग



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीले मङ्गलबार विज्ञप्ति जारी गरी बडादशैँलगायत चाडलक्षित प्रचार सामग्रीमा हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्वीर संलग्न गरिएकामा दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा भएको त्रुटीमाथि अविलम्ब छानविन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरिएको छ । प्रकाशन भइसकेको उपरोक्त प्रचार सामग्री सङ्कलन, जफत र नष्ट गर्न पनि पार्टीले आग्रह गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको उक्त विभागले जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने प्रचार सामग्री पोस्टरमा राखेको थियो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेता सुन्दर पाण्डेले राष्ट्रिय जनावर गाईलाई मासुजन्य वस्तुमा समावेश गरेर प्रकाशन गरिएको विषय गम्भीर अपराधका रुपमा लिनुपर्ने बताउँदै समाजमा रहेको धार्मिक सहिष्णुतालाई विथोल्न उक्त पोष्टरले अहिले ठूलो भ्रम सिर्जना गरिरहेकाले यसमा संलग्न पक्षमाथि अनुसन्धान गरी कडा कारवाही गर्नुपर्ने माग गरे ।