आचारसंहिता उल्लंघन गरेर वडाध्यक्ष नै प्रचारमा, सार्वजनिक बहस गर्न गगनलाई चुनौती
काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ४ मा चुनावको गर्मी ह्वात्तै बढेको छ । सत्तापक्ष र विपक्ष गठबन्धनले चुनावी प्रचार आक्रामक छन् ।
उम्मेदवार तहमा भन्दा समर्थक तहमा चुनावको चटारो बढी छ । कतिपय जनप्रतिनिधिहरुले आचारसंहिता नै उल्लंघन गरेर उम्मेदवारलाई भोट मागिरहेका छन् ।
जनप्रतिनिधिले समेत आफूनिकट पार्टीइतरका उम्मेदवारविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका छन् । र, निर्वाचन आचारसंहिताविपरीत आफूनिकट पार्टीका उम्मेदवारको पक्षमा भोट मागिरहेका छन् ।
यसै क्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर- १० का अध्यक्ष नवराज भट्टराईले कांग्रेस महामन्त्री एवं काठमाडाैं- ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापालाई सार्वजनिक बहसमा आउन चुनौती दिएका छन् ।
सँगै एमाले उम्मेदवार राजन भट्टराईलाई जिताउन आफू एकपल्ट नभएर हजाराैँपल्ट नागरिकको घरआँगनमा पुग्नेसमेत बताएका छन् ।
यसअघि राजन भट्टराईसँग घरदैलोमा देखिएका वडाध्यक्षले आचारसंहिता उल्लंघन गरेकाे विषयमा आएको समाचार गगन थापाको सचिवालयले लेखाएको आराेप लगाएका छन् ।
उनले लेखेका छन्, ‘१५ वर्षमा के भएछ सजिलै थाहा पाइयो । आउनुहोस् निवर्तमान सांसदज्यू म तपाईंसँग कपन डुबानको समाधानको निमित्त बक्स कल्भर्ट, नगर अस्पताल निर्माण, मेलम्ची खानेपानी, करिडोर निर्माणलगायतका विषयमा कसकाे योगदान कति छ सार्वजनिक बहस गर्न तयार छु ।’
उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो पार्टीका इमानदार, विकासप्रेमी, सत्यवादी नेता जिताउन एकपटक हैन हजाराैँ पटक नागरिकको घर/आँगनमा भोट माग्न जान्छु ।’