महरा काण्डमा गगन थापाले भने: प्रहरी सत्ता र शक्तिबाट प्रभावित नहोस्
बुटवल – नेपाली कांग्रेसका नेता गगन थापाले सभामुखमाथि लागेको आरोपको निष्पक्ष छानबिनको माग गरेका छन्।
बुटवलमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले सभामुख कृष्णबहादुर महराको दोषी या निर्दोषबारे प्रष्ट हुन पनि निष्पक्ष छानबिनको आवश्यकता रहेको बताए ।
‘सभामुखजस्तो पद सम्हालेको व्यक्तिमाथि जुन आरोप लागेको छ, यसले संसदकै गरिमामाथि प्रश्न उठाएको छ’, उनले भने, ‘यो आरोप साँचो हो या गलत भन्ने प्रष्ट पार्न निष्पक्ष छानबिन होस्, प्रहरी सत्ता र शक्तिबाट प्रभावित नहोस्, कानुनअनुसार गर्नुपर्छ।’
उनले आरोप गलत पुष्टि भएमा आरोप लगाउने व्यक्तिमाथि कानूनी उपचार खोज्नुपर्ने बताए । ‘यो घटना भयो भन्ने सुनेपछि म स्तब्ध भएको छु, यसमा सभामुख महराको संलग्नता नदेखियोस्, म कामना गर्छु उहाँ यस्तो काममा संलग्न नभएको भए हुन्थ्यो भन्ने कामना गर्छु’, उनले भने, ‘यसमा अहिलेसम्मका सूचनालाई आधार मानेर छानबिन गरियोस् ।’
फरक प्रसंगमा नेता थापाले सरकारसँग शक्ति भएपनि नैतिकता गुमिसकेको बताए ।
‘सरकारसँग शक्ति छ, तर यो सरकारका गतिविधिले सरकार नैतिक रूपमा कमजोर भएको छ, यसले काम गर्न नसकेको देखिएपछि सरकारको विरोध गर्नेहरूको आवाज दबाउन खोजिएको छ, आवाज बन्द गर्ने प्रयास गरिएको छ, यो लोकतन्त्रमाथिकै प्रहार हो ।’
उनले पार्टी र सरकारमै रहेका व्यक्तिले सरकारको विरोध गर्नेहरूमाथि आक्रमण गर्न उक्साएको दाबी गरे ।
‘जिम्मेवार व्यक्तिले नै कार्यकर्ताहरूलाई उक्साउनुभएको छ, दुरूत्साहन गर्नुभएको छ’, उनले भने, ‘यसमा सरकारले जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, कांग्रेस सरकारलाई जिम्मेवार हुन आग्रह गर्छ ।’
देश सञ्चार प्रालिद्वारा संचालित देश सञ्चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।