गगन थापाले मागे प्रधानमन्त्री ओलीको राजिनामा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

गगन थापाले मागे प्रधानमन्त्री ओलीको राजिनामा



दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् ।

उनले प्रधानमन्त्री ओलीले लाज पचाएर कुर्सीमा बसिरहेको समेत आरोप लगाए । थापाले ओलीले कुर्चीमा बस्ने नैतिकता हराइसकेको समेत बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले दाङमा आयोजना गरेको ‘कोइरालाको शान्तिप्रक्रिया स्थापनामा योगदान’ विषय कार्यक्रममा सोमबार गगन थापाले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार र मन्त्रीको दैनिक जसो सार्वजनिक हुने काण्डले प्रधान्मन्त्रीको कुर्सीमा बस्ने नैतिकता हराएको टिप्पनी गरे । ‘कति काण्ड उहाँसँगै छन्, कति अरूसँग भए’, उनले भने, ‘यसले पनि ओलीको पदमा बस्ने नैतिकता देखिँदैन ।’

उनले विभिन्न काण्डले प्रधानमन्त्री कुर्सीमा बस्ने राजनीतिक र नैतिक कुनै आधार नरहेको बताए । ‘आफ्नै भान्साभित्रको सदस्यको काण्डहरू प्रधानमन्त्रीले थाहा नपाउनु र ढाकछोप गरेर राख्नुले उनी राजनीतिक र नैतिक हिसावले विफल भइसके’, उनले भने, ‘एउटा, दुईवटा मात्रै हैन यहाँ त दैनिक नयाँ-नयाँ काण्ड मच्चिरहेका छन् । ४-५ दिनकै हेरौँ गोकुल काण्ड, बामदेव काण्ड, संविधान काण्ड, केक काण्ड यसले सबै प्रष्ट पारेको छ ।’

थापाले बहुमतको सरकारले संविधान रक्षा गरेर संविधानको कार्यान्वयनमा लाग्नुको साटो संविधानलाई कमजोर बनाउने दृष्टता गरेको बताए । सरकारले संविधान नै संकटमा पर्ने गरी गतिविधि सञ्चालन गरेको उनको भनाइ छ ।

अब संविधानको रक्षा ठूलो चुनौति भएको बताउँदै उनले भने, ‘अहिले सरकार कुनै पार्टीले चलाएको छैन, दुई जना व्यक्तीले सरकार चलाइरहेका छन्। लोभ र डरले सत्ता चलाउँदा संविधान नै संकटमा परेको छ ।’

संविधान जोगाउनु पर्ने चुनौति भएको र यसका लागि कांग्रेस चनाखो हुनु पर्ने बताउँदै उनले भने, ‘संसदमा पेश भएका सबै कानून पास भए संविधान गयो भनेर बुझ्दा पनि हुन्छ। अहिले जनता तर्साउने र सत्ता लम्भ्याउने काम भइरहेको छ ।’

शान्ति निर्माण र अन्तरिक संविधानमा गिरिजाप्रसाद कोइरालाले बनाएका आधार र जगलाई बलियो बनाउनुको साटो बहुमतको सरकारले सिध्याउन लागेको समेत आरोप उनले लगाए ।