गगन थापालाई दलको नेता नबनाउन नेकपा एसको माग
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले गगन थापालाई संसदीय दलको नेता नबनाउन माग गरेका छन् ।
एक रेडियो कार्यक्रममा बोल्दै उनले गठबन्धनविरुद्ध लाग्ने नेतालाई दलको नेता बनाउन नहुने बताए । फरक प्रसंगमा उनले रेशम चौधरीको रिहाइका लागि अध्यादेश गठबन्धनलाई बहुमत पुर्याउन नआएको दाबी गरे ।
उनले सत्ता गठबन्धनलाई रेशम चौधरी छुटाउनैपर्ने बाध्यता भयो है भन्ने प्रश्नमा खतिवडाले भने, ‘गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी नभए पनि बहुमत पुग्छ । फेरि चर्चा गरिए जसरी अध्यादेश पनि आइसकेको छैन । यसमा कानुनी वैधताको प्रश्न छ, न्यायालयको पनि ध्यानाकर्षित हुन सक्छ ।’
चौधरीको रिहाइ कानुनी प्रश्न पनि भएको उनले बताए । खतिवडाले भने, ‘यसलाई गठबन्धनको आवश्यकताको विषयवस्तु नठानौं । रेशम चौधरी नछुट्दा पनि बहुमत पुग्छ । सरकारमा नागरिक उन्मुक्ति पार्टीको सहभागिता जरुरी छ, रेशम चौधरीको रिहाइ नभए सपथग्रहण गर्दिनँ भन्नेसम्म कुरा सुनेको छु । पाँच वर्ष स्थायी ढंगले सरकार चलाउने ढंगले गरेको पनि हुन सक्छ । तर यो कानुनी प्रश्न हो । अहिलेको अहिले नै टिप्पणी गर्ने अवस्था छैन ।’
अबको प्रधानमन्त्री शेरबहादुर देउवा वा प्रचण्ड सहमतिमा हुन सक्ने पनि खतिवडाले बताए । उनले भने, ‘कुरा मिल्दै नमिल्न पनि सक्छ । खेलाडी थपिँदै जाँदा सुरुमा मिलेर अन्त्यमा नमिल्न पनि सक्छ । पहिलो दाबी कांग्रेसको हुन्छ । उसले सहमतिमा माओवादीलाई दिन पनि सक्छ । हामीबीच सहमति भएन भने माधव नेपाललाई बनाऊँ भन्न पनि सक्छन् । यी सबै कुरा प्रचण्ड र देउवाको सहमतिले निर्धारण गर्छ ।’
गठबन्धनविरुद्ध तिकडम बाजी गर्नेलाई संसदीय दलको नेता बनाउन कांग्रेस लाग्नु नहुने पनि उनले बताए । खतिवडाले जोड दिए, ‘कांग्रेस संसदीय दलको नेता जो बन्छ, उसलाई प्रधानमन्त्री बनाउने कुरा सिद्धान्ततः सही होइन ।
गठबन्धनलाई मनैदेखि अघि बढाउने पात्र चाहिन्छ । नत्र सरकार चलाउन कठिन हुन्छ । अहिलेसम्म देउवाले मिलाएको देखिन्छ । गठबन्धनलाई अघि बढाउने नेता नै संसदीय दलको नेता हुनुपर्छ । गठबन्धनविरुद्ध तिकडमबाजी गर्नेलाई दलको नेता बनाउन कांग्रेस नलागोस् ।’