गगन थापाले फेरि ल्याए पपुलर नारा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

गगन थापाले फेरि ल्याए पपुलर नारा



काठमाडौं- सधै भाषण र नाराबाट पपुलर बनेका नेपाली कांग्रेसका नेता गगन थापाले फेरि पपुलर नारा ल्याएका छन् । उनले महामन्त्रीको उम्मेदवारका रूपमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै नयाँ नाराको समेत घोषणा गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अवधारणापत्र सार्वजनिक गर्दै नेता थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ बनाउने आफ्नो लक्ष्य रहेको बताए। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराभन्दा आफ्नो अवधारणा भिन्न रहेको उनको भनाइ थियो।

नेता थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणा सामाजिक लोकतन्त्रमा आधारित भएको बताए। “सबैलाई शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत न्यूनतम कुराको ग्यारेन्टी हुन्छ,” नेता थापाले समुन्नत नेपाल र सम्मानित नेपाली नारालाई पूरा गर्ने आधार सुनाउँदै भने, “यसका सैद्धान्तिक रूपरेखा चाहिन्छ। मेरो सामाजिक लोकतन्त्रको फ्रेमवर्क हो।”

उनले सार्वजनिक गरेको १५ बुँदे अवधारणापत्रमा नेपाललाई कसरी समुन्नत बनाउने र नेपालीलाई कसरी सम्मानित बनाउने भन्ने विस्तृत रूपमा विवेचना गरिएको बताए। यस सम्बन्धी विस्तृत जानकारी सहितको पुस्तिका कांग्रेस महाधिवेशनमा वितरण गर्ने उनले बताए।

जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि नै आफू कांग्रेस महामन्त्रीको उम्मेदवारका रूपमा उभिएको उनको भनाइ थियो। महामन्त्रीले नै कांग्रेसको आगामी रूपरेखा तय गर्ने भएकाले आफू त्यसका लागि तयार रहेको थापाले बताए। “अब कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ। कांग्रेससँग समस्या होइन, समाधान हुन्छ। कांग्रेसले सुशासनको प्रत्याभूति गराउँछ,” थापाले भने, “त्यसका लागि म महामन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएको छु।”

कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा प्रारम्भ हुँदै छ। नेतृत्व चयनका लागि २७ मंसीरमा निर्वाचन हुने कार्यतालिका रहेको छ।