गगनलाई ठूलो धक्का: उनको क्षेत्रका सबै वडामा एमालेको कब्जा - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

गगनलाई ठूलो धक्का: उनको क्षेत्रका सबै वडामा एमालेको कब्जा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा पर्ने सबै वडामा नेकपा एमालेले “क्लीन स्वीप” गरेको छ । गगन थापाले चुनाव जितेको निर्वाचन क्षेत्र काठमाडौं-४ मा पर्ने सबै वडा नेकपा (एमाले) ले जितेको छ।

उनको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिका ८ नम्बर वडा र काठमाडौं महानगरपालिका ४ वटा वडा पर्दछन्। तीमध्ये बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामा एमालेले जितेको छ। यससंगै गगन थापालाई आगामी चुनावको लागि ठूलो धक्का लागेको छ ।

काठमाडौँ महानगरपालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ। तीन वटा वडामा गणना जारी छ। एमालेले बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौंको १ नम्बर वडा जितेको छ।

एमालेका स्थायी समिति सदस्य डा. राजन भट्टराईको निर्वाचन क्षेत्र पनि यही हो। यसपटकको निर्वाचनमा उनी आफैंले कमाण्ड गरेका थिए। भट्टराई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार थापासँगै पराजित भएका थिए।

बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वडा एमालेले जितिसकेको छ। मेयरमा १४ हजार २५० मत ल्याएर मिठाराम अधिकारी विजयी भएका छन्। त्यहाँ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११ हजार ५१२ मतमा सीमित भए।

उपमेयरमा १४ हजार ३१४ मतसहित एमालेकै अनिता लामा विजयी भइन्। उपमेयरको प्रतिद्वन्द्वी पनि नेपाली कांग्रेसकै रमिला वाग्ले थिइन्। उनले ११ हजार ९७२ मत ल्याइन्।