गगनको अठोट :५० हजार युवालाई नेपाली काँग्रेसको पक्षमा ल्याउछु - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

गगनको अठोट :५० हजार युवालाई नेपाली काँग्रेसको पक्षमा ल्याउछु



काठमाडौँ। नेपाली काँग्रेसका नेता गगन थापाले निर्वाचन हारेको कारण नभई लोकतान्त्रिक पद्धति र संविधान कार्यान्वयन अल्झनमा पर्ने हो कि भन्ने विषयले नेपाली काँग्रेस आत्तिएर छटपटाएको बताएका छन्।

नेपाली काँग्रेस पाल्पा काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा थापाले भने, “राजनीति जितेको, चुनाव हारेको अवस्था हो अहिले काँग्रेसको, वर्तमान सरकारले संविधानको पूर्णपालना गरोस्, जनतालाई सेवाप्रवाह राम्रो ढंगले गरोस्, सरकारले राजनीतिक स्थिरता दिएरमात्र हुँदैन, लोकतान्त्रिक संस्कारलाई बलियो बनाओस्, सरकारको त्रुटिपूर्ण सोचले युवा पुस्ता खेर जान्छन् कि, संविधानको पालना हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्न र चिन्ता हो ।”

दुई तिहाइ बहुमतको आडमा सरकारले निर्वाचन आयोग, अदालत र प्रेसमाथि नियन्त्रण गर्न उद्धत रहेको देखिएको उल्लेख गर्दै नेता थापाले काँग्रेस प्रश्न र समस्या होइन, उत्तर र समाधान दिने पार्टी बनाउने अभियानमा आफूहरु जुटेको बताए।

काँग्रेसको कार्यशैलीबाट असन्तुष्ट भएर बसेका काँग्रेसजनलाई गोलबन्द गर्दै आगामी पाँच वर्षभित्रमा १५ लाख नयाँ मतदातालाई आकर्षण गर्ने अभियानमा पार्टीले दिने जस्तोसुकै जिम्मेवारीलाई शिरोधार्य गरी ५० हजार युवालाई आफू एक्लैले नेपाली काँग्रेसको पक्षमा ल्याउने उनले अठोट व्यक्त गरे।

सम्पर्क समितिले खिमानन्द बस्यालको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरेको छ भने सुरज पौडेलको नेतृत्वमा पाल्पा काठमाडौ नेविसंघ समिति र संजय श्रेष्ठको संयोजकत्वमा तरुण दल तदर्थ समिति पनि गठन गरेको छ ।

बस्याल नेतृत्वको सम्पर्क समितिको उपाध्यक्षमा पाण्डव पौडेल, विक्रमसिं ठकुरी, महिला उपाध्यक्षमा विमला बस्याल, सचिवमा अमृत अधिकारी, कोषाध्यक्ष मिनप्रसाद बस्याल लगायत निर्वाचित भएका छन्।