गगनको जवाफ- महामन्त्री पद कसैले किस्तीमा दिएको होइन, देउवाको चाकरी गरेर उफ्रिनु पर्दैन - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

गगनको जवाफ- महामन्त्री पद कसैले किस्तीमा दिएको होइन, देउवाको चाकरी गरेर उफ्रिनु पर्दैन



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीका केन्द्रीय सदस्यहरूलाई मुखभरीको जवाफ फर्काएका छन् । पार्टीको बैठकमा मिडियाबाजी गरेको आरोप लगाउने नेताहरूलाई गगनले जवाफ फर्काएका थिए ।

उनले पार्टी संचालनमा विधि नपुगेको ठाउँमा पार्टी सभापतिलाई झक्झक्याइ रहने बताएका छन्। केन्द्रीय समितिको जारी बैठकमा बोल्दै थापाले आफू निर्वाचित महामन्त्री भएकाले सभापतिलाई सहि बाटोमा हिँडाउने आफ्नो कर्तव्य भएको बताएका हुन्।

यद्यपि थापाले शेखर कोइराला समूहको पार्टी प्यालेसमा भएको बैठकमा गएको भनेर आलोचना गर्ने केन्द्रीय सदस्यहरुलाई पनि जवाफ दिए। उनले हिजो गुट बैठकमा सहभागी भएर आज यहाँसम्म आइपुगेकाहरुले पार्टी प्यालेसको बैठकमा गयो भनेर चिच्याउने नैतिकता नराख्ने थापाको जवाफ छ।

आफू पार्टी प्यालेसको बैठकमा एकताको सन्देश बोकेर जाने गरेको र मिलेर जानुपर्छ भनेर जोड दिँदै आएको उल्लेख गर्दै थापाले यही विषयमा सभापतिलाई उचाल्ने, चाकरी गर्ने काम नगर्न उपस्थित केन्द्रीय सदस्यलाई चेतावनी दिए।

‘हिजो बुढानिलकण्ठ, चाक्सीबारी र बोहराटारमा गुटको बैठक बसेर यहाँ आइपुगेकोहरुले पार्टी प्यालेसमा बैठकमा गएको, बैठक बसेको भनेर चिच्याउने?’ गगनले प्रश्न गरे, ‘घर हुनेले घरमा बस्छ, नहुने पार्टी प्यालेसमा बस्छ। पार्टीभित्र एकता निर्माण गर्न लागेको छु। समूहको बैठकमा उकास्ने होइन मिलाएर/मिलेर जानेमा उत्प्रेरित गर्छु।’

थापाले आफूलाई मत नहाल्नेले पनि जिम्मेवारी पाउँछ भन्ने देखाए गुट आफै बन्द हुने पनि चुनौती दिए। ‘भातृ संस्था, शुभेच्छुक संस्था बनाउदा के सभापतिज्यूको खेमाकै हुनुपर्ने?’ गगनले प्रश्न गरे, ‘सुशील कोइरालाको समयमा देउवाजीले राजीनामा दिएको सम्झिउन।’

पार्टी संचालनमा विधि नपुगेको ठाउँमा पार्टी सभापतिलाई झक्झकाउने आफूहरुको प्रयासमा हैसे गर्नुपर्नेमा उल्टो सभापतिको चाकरी गर्ने भन्दै गर्जिएका महामन्त्री थापाले सभापतिलाई उकासने काम नगर्न चेतावनी दिए।

‘आफूलाई मत नहाल्ने ४० प्रतिशतलाई पनि समेटेर जानुपर्छ भन्नू पर्नेमा उल्टो पेलेर जान उकास्ने?’ गगनले आक्रोश पोखे, ‘हिजो सुशील कोइराला सभापति हुँदा कसैगरी पेलेर जानुपर्छ भन्नेहरु आज शेरबहादुरसँग उभिएर कोइरालालाई पेल्नु पर्छ भनेर उकास्ने?’

सभापतिलाई विधिसम्मत र न्याय/निष्पक्षताको लागि दबाब दिने थापाले स्पष्ट पारे। ‘विधिमा सम्झौता हुन्न। पार्टीलाई एकताबद्ध, विधिसम्मत बनाउन जति लचिलो र जति दृढ हुन पनि तयार छु,’ उनले भने।

थापाले पार्टीमा सदस्यता खुला गरेको भन्दै देशव्यापी नयाँ सदस्य बनाउन अपिलसमेत गरे। ‘लेटरल इन्ट्रीबाट अन्य पेशाका मानिसले पार्टीमा मौका पाउँछ भन्ने आश्वस्त पारौं,’ उनले भने।

‘तालमेलको औचित्य हुनुपर्छ’

महामन्त्री थापाले चुनावी तालमेल औचित्यका आधारमा हुनुपर्ने सुझाव पनि नेतृत्वलाई दिए। ‘प्रत्येक मतदातालाई भन्न सक्नुपर्छ यो तालमेल केका लागि? हामीले भनौला- हाम्रो सरकार बनाउनको लागि। तर जनतालाई कारण चाहियो, हामीसँग उत्तर हुनुपर्छ,’ उनले भने।

थापाले नयाँ मतदातालाई रुखमै मत हाल्नेगरी योजना बनाएर अघि बढ्नुपर्नेमा सभापतिको ध्यानाकर्षण गराए। ‘पहिलोपटक मत हाल्ने कांग्रेस मतदाता अन्य चुनाव चिन्हमा मत हाल्न नजाउन, आफ्नै लागि उत्पादक हुनेतर्फ ध्यान दिउ,’ उनले भने।

थापाले चुनावी तालमेलबाट जित हासिल गरे पनि पाँच वर्ष तालमेल कायम रहने र स्थिर सरकार तथा आशातित परिणाम आउने ग्यारेन्टी के भनेर पनि प्रश्न गरेका थिए।

‘कसैले बाँडेर भएको महामन्त्री होइन’

थापाले आफूलाई महामन्त्रीको दायित्व थाहा भएको भन्दै हतोत्साहित बनाउने प्रयत्न नगर्न चेतावनी दिए। महामन्त्री भूमिका निर्वाह गर्दा भएका कमीकमजोरी सच्चाउन दिएको सुझाव स्वागत गर्ने भन्दै थापाले थपे, ‘तर कसैले बदनियत राखेर, हतोत्साहित गर्न खोजेको भए ख्याल गर, कसैले बाँडेर भएको महामन्त्री होइन। मेरो जिम्मेवारी कर्तव्य थाहा छ। विराउदिनँ, डराउदिनँ। आफ्नो जिम्मेवारी पूरा गर्छु।’

थापाले आफू महामन्त्री भएर पनि पार्टीको काम र सरकारले गरेका काम पत्रिकाबाट थाहा पाउने अवस्था रहेको भन्दै त्यसैकारण आफ्नो प्रतिक्रिया पनि पत्रिकाबाटै आउने गरेको जवाफ दिए।