एउटा पार्टी, सानेपा, देउवा र पौडेल मात्रै काङ्ग्रेस होइनन :गगन थापा - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

एउटा पार्टी, सानेपा, देउवा र पौडेल मात्रै काङ्ग्रेस होइनन :गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायीत्वका लागि नेपाली कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा गरेको दोश्रो राष्ट्रिय महिला तथा युवा सम्मेलनमा बोल्दै उनले कुनै नेता विशेष र पार्टी कार्यालय बलियो हुँदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न नसकिने बताएका हुन् । उनले संगठन बलियो र नेतृत्व भरोसायोग्य नभएका कारण युवाहरु भविष्य प्रति विश्वस्त हुन नसकेको उल्लेख गर्दे उनले पार्टीको तल्लो तहसम्मका भात्तृ संगठन सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याए ।

उनले भने, “नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ति कांग्रेस बलिया र भरोसायोग्य हुनुपर्छ । कांग्रेस बलियो र भरोसायोग्य हुने भनेको कांग्रेसका वीङस्हरु बलियो हुनु हो । कांग्रेस भनेको कुनै एउटा पार्टी, सानेपा, शेरवहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन । ”

उनले कांग्रेसका सबै तहका नेतृत्वको आचरण र क्षमताले कांग्रेस बलियो र कमजोर हुने भएकाले नेतृत्वले आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याए ।

नेता थापाले पार्टी नेतृत्वलाई युवालाई नेतृत्व हस्तान्तरण गर्ने र मुल कार्यक्रमको अग्रभागमा युवा र महिला राख्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव पनि दिए । उनले पार्टी नेतृत्वले युवाहरुलाई भविश्यमा मुलुकको शासन र आर्थिक अवस्था कस्तो हुने भन्ने यथार्थ तस्बिर दिन सक्नुपर्ने बताए । उनले कांग्रेस सधै जनताको मन जित्ने अभियानमा लागिरहनुपर्ने आवश्यकता औंल्याए । उनले भने, “हामी मजदुर किसान पार्टी पनि होइन । भक्तपुरमा मादल बजाएर बस्ने । कांग्रेस हो जित्ने मन हुन्छ । देशभरी चुनाव लड्ने हो जितेन भने जितेन । अर्को पटक जित्ने हो ।”

सम्मेलनले आगामी कार्यकालका लागि टिकाकला शर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय महिला समिति चयन गरेको छ । त्यसैगरी जेम्स जोशीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा समिति पनि चयन गरेको छ । सम्मेलनमा फियन अन्र्तगतका ७ वटा प्रदेश एवं ४५ वटा आवद्ध संघका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।