काङ्ग्रेसमा गच्छदार आए, गुलेली खेलाए - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

काङ्ग्रेसमा गच्छदार आए, गुलेली खेलाए



काठमाडौं।  नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको बताए पनि कांग्रेस र फोरमबीचको पार्टी समायोजनका केही विषय अझै टुंगिएको छैन ।

कांग्रेसले गत १० असोजमा बसेको केन्द्रीय समिति बैठकबाट तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समायोजनलाई निर्णयमा पु¥याएको बताएको थियो । सो बैठकले स्थानीय तहदेखि नै गच्छदार नेतृत्वको तत्कालीन पार्टीसँग भएको सहमतिलाई तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको थियो । साथै स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, संघीय निर्वाचन क्षेत्रसहितका सबै तहमा नेताहरूलाई जिम्मेवारी दिँदै केन्द्रीय सदस्यका लागि ११ जनाको नाम मागेको थियो ।
तर, निर्णय भएको एक महिना पुग्नै लाग्दा समेत पार्टी एकतापछि उपसभापति बनेका गच्छदारले आफ्ना तर्फबाट समायोजन गर्ने केन्द्रीय सदस्यको नाम पार्टीमा बुझाएका छैनन् । उनले आफ्ना तर्फबाट केन्द्रीय सदस्य बनाउने नेताहरूको नाम सभापतिलाई दिन नसक्दा समायोजनमा तल्लै तहबाट अड्चन देखिन थालेको छ ।

गच्छदारले केन्द्रीय सदस्यका लागि केही नेताको नाम दिन सोही बखत नै तयारी गरेको भए पनि केही नामका विषयमा असन्तुष्टि आएपछि उनी रोकिएको स्रोतले बतायो । उनीभित्रकै खेमाबाट केही नामका विषयमा असन्तुष्टि आएको थियो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले गच्छदारबाट केन्द्रीय सदस्यमा सिफारिस गर्नुपर्ने नाम नै सभापतिलाई आइनसकेको बताए ।

‘गच्छदारजीले सभापतिलाई नाम बुझाउनुपर्ने हो, आएको छैन । उहाँले नाम दिए तुरुन्तै टुंगिन्छ,’ सहमहामन्त्री महतले राजधानीसँग भने ।
तर, गच्छदार निकट नेता जितेन्द्र देवले भने तल्लै तहबाटै सबै नाम टुंगाउँदै आउनुपर्ने भएकाले समय लागेको बताए ।

‘तल्लो तहबाटै नाम टुंगाउँदै आउँदा समय लागेको हो । केही समयभित्रै सबै तहमा समायोजन गर्ने नेताहरूको नाम टुंगिन्छ । आएका नाममा असन्तुष्टि देखियो भन्ने होइन,’ नेता देवले भने ।
हाल कांग्रेसको केन्द्रीय समितिको आकार ८५ सदस्यीय छ । अब गच्छदारलाई दिने नाम टुंगिए कांग्रेस केन्द्रीय समिति ९६ सदस्यीय हुनेछ ।

कांग्रेसले समायोजनलाई निष्कर्षमा पु¥याउन भन्दै उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा. महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य रहेको समायोजन समिति गठन गरेको थियो ।

कांग्रेसले समायोजन समितिको सुझावअनु्सार केन्द्रीय कार्यसम्पादन समितिमा समेत समायोजनको प्रस्तावलाई ध्यान राखी सहमतिका आधारमा समावेश गर्ने निर्णय गरेको थियो । यस्तै, तत्कालीन लोकतान्त्रिक फोरमलाई महासमितिको बैठकमा सहभागी दुई सय जना महासमिति सदस्यलसहित पर्यवेक्षकका रूपमा सहभागी १४८ जना तथा थप २५२ जनालाई महाधिवेशन प्रतिनिधि बनाउँदै कुल ६ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय भएको थियो ।

यस्तै, पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने सहमति भएको थियो । प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने तथा अन्य सबै तहमा समेत सहमतिको खाका बनाइएको थियो ।