नेपालमा त गब्बर सिंहका बाउहरु रहेछन: गृहमन्त्री थापा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेपालमा त गब्बर सिंहका बाउहरु रहेछन: गृहमन्त्री थापा



काठमाडौं । गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिकिकरण कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ खुलेरै पत्रकारसामु प्रस्तुत भए ।

आफ्नो ३५ दिने अनुभव सुनाइरहँदा उनले प्रहरीदेखि कर्मचारीसम्मलाई व्यङ्ग्य गरे । देशलाई तस्कर, माफिया र दलालहरुले बर्बाद गर्न खोजेको भन्दै तीव्र सुधार गर्ने बेला आइसकेको बताए ।

गुण्डागर्दी र अपराधको प्रसंग झिक्दै उनको अध्यागमन, जेलका जेलर, कैदी र प्रहरी अनुगमनको प्रसंग निकाले । सुरुमा चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती नै छिराइदिन्छु भनेका रहेछन् भन्दै अध्यागमनका कर्मचारी मानव तस्करीमा लागेको आरोप लगाए ।

काठमाडौंमा गुण्डाराज बढेको बताउँदै उनले चर्चित भारतीय फिल्म ‘सोले’को प्रसंग निकाले ।

जुन फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्रसँगै ‘गब्बर’ भन्ने पात्र थिए । ‘सोले’ मा गब्बर खतरनाक खलपात्रका रुपमा देखिएका छन् । मुलुकमा गुन्डागर्दी, बलात्कार बढेको भन्दै उनले भने–नेपालमा त सोलेका गब्बरका बाउहरु रहेछन्, उनीहरुलाई ठेगान लगाउनुपर्यो ।”

गृहमन्त्री थापाले यो प्रसंग निकाल्दा प्रहरीका उच्च अधिकारी हाँसेका थिए । थापाले जेलभित्रै गुण्डागर्दी र अपराधको योजना बनिरहेको बताए । आफ्नो जेल अनुगमनको अनुभव सुनाउँदै थापाले जेलका गुन्डाहरु मर्सिटिड कारमा डिस्को र दोहोरीमा भेटिएको चर्चा गरे ।

उनले भने, “जेलको एउटा गुन्डा मर्सिटिज कारमा हिँड्दो रहेछ, अर्कोलाई नेवारी खाजा मनपर्दो रहेछ,जेल त मिनी नेपालजस्तै रहेछ ।”

उनले जेलर र प्रहरीकै मिलोमतोमा यस्तो हुने गरेको बताए । देशभरका कारागारमा रहेका गुन्डा नाइके र जेलरहरुको सरुवा गर्ने गृहमन्त्रीले बताए । उनले फेरि थपे, “जेलरहरु सरुवा हुनै मान्दैनन्, उनीहरु कारागारका गुन्डाहरुबाट हप्ता असुल्दा रहेछन् ।”

कैदीहरुलाई अब उत्पादनसँग जोड्नुपर्ने उनले बताए । देशभर अहिले ७४ कारागारमा १९ हजार कैदीबन्दी रहेको थापाले सुनाए ।

यसैबीच गृहमन्त्री थापाले पहिले आफ्नो टाउकोमा आगो लगाउन अनिमात्रै अरुतिर हेर्न गृह प्रशासन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । पदभार सम्हालेको ३५ दिनपछि गृहमन्त्री थापाले मन्त्रालयमा गृह सुधार योजना सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले भने, “इमान्दार भएर देशको विकास र समृृद्धिमा योगदान गर्ने हो भने पहिले आफ्नै टाउकोमा आगो लगाएर सच्चिने प्रण गरौं, अनिमात्रै अरुतिर हेरौं ।”

झण्डै डेढ घण्टा आक्रामक रुपमा बोलेका गृहमन्त्री थापाले मुलुकको शान्ति सुरक्षाको अवस्थामा वैज्ञानिक सुधारको आवश्यकता औंल्याए । पटक–पटक ‘रेडिकल चेन्ज’ शब्द प्रयोग गरेका गृहमन्त्री थापाले सीमा, विमानस्थल, अध्यागमन, यातायत क्षेत्र, तस्करी र अपराध नियन्त्रणलगायत क्षेत्रमा ठूलो धक्काको आवश्यतामा जोड दिए । सुरक्षा निकायका कमजोरीलाई अब क्षमा गर्न नसकिने बताउँदै उनले समयानुकूल सच्चिएर देश र जनताको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिए ।

मुलुकमा माफियातन्त्र र तस्करी मौलाएको बताउँदै मन्त्री थापाले गृह मन्त्रालयले ठोस कार्यक्रम बनाएर विशेष प्रहार गर्ने बताए । तस्कर, कर्मचारी, राजनीतिक दलका केही नेताहरु मिलेर देश डुबाउन लागेको भन्दै उनले हरेक क्षेत्रका गलत पात्र र प्रवृत्तिविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत प्रतिबद्धता जनाए ।

के छ ८२ बुँदामा ?

‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिको लागि शान्तिसुरक्षा र सुशासन’को नारा दिँदै गृह मन्त्रालयले गृह प्रशासन योजना २०७४ सार्वजनिक गरेको छ । यो कार्ययोजना एक वर्षका लागि तयार पारिएको हो । खासगरी कार्ययोजनाका रणनीतिक उद्देश्यमा गृह प्रशासनका सबै अंगहरुको नतिजामुखी, वैज्ञानिक र राष्ट्रिय उद्देश्यका लागि परिचालन, सुुरक्षा निकायलाई क्षमतावान र प्रविधिमैत्री बनाउने, आपराधिक र अवाञ्छित गतिविधिको नियन्त्रणसँगै आन्तरिक सुरक्षा मजबुत बनाई राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सृदृढ गर्नेलगायत छन् ।

साथै नीतिगत र कानुनी सुधार गर्ने, संगठनात्मक सुधार, जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा सुधार र सुशासन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सृदृढीकरण, विपद् जोखिम न्यूनीकरण, अनुशासन र सदाचारिता कायम र कामको मूल्यांकन गरिने कार्ययोजनामा उल्लेख छ । सबै विषयको समयसीमा र कसरी गर्ने भन्ने पनि योजनामा उल्लेख गरिएको छ ।