फुलहरूलाई अपिल (कविता) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

फुलहरूलाई अपिल (कविता)



हो तिमी फुल हौ ,

यसमा आशंका छैन कि तिमीमा भरपुर सुन्दरता छ ,
मनमोहकता छ ,
सुकोमलता छ ,
छ नयनभिराम छ ,
अडिन्छन् निकै बेर तिम्रो सम्मोहनमा रसिकहरू ।

लोभिन्छन् ,लालायित हुन्छन्
तिमीलाई छुन र तिमी सम्म पुग्न ।

तिमी मान या नमान ,
ए आदिम फुलहरू हो !

तिमीमा निहित सुगन्ध , सौन्दर्य , र कोमलता नै
तिमीलाई कमजोर सिद्ध गर्नुका मूल कारक हुन् ।

कोही आउँछन्
निकै बेर तिमीलाई कामुक भएर नियाल्छन्
छुन्छन् , चुम्छन् र चुँड्छन् निमोठ्छन् अनि फ्याँक्छन् ।

सायद तिमीलाई पनि त रिस उठ्दो हो
आफ्नो अस्तित्वमाथि भएको यो मनपरी देखेर ।

हेरन ,
कसरि बिना इजाजत आउँछन् झुम्मिनछन् रस पान गर्छन् र तिमीलाई नीरस बनाउछन भमराहरू
कसरी खेल्छन तीम्रो सुन्दरता माथी मनपरी ।

र पनि तिमी मौन छौ , प्रतिक्रिया बिहिन छौ
किनकी तिमी यहि सोंच्छौ या तिमीलाइ यहि बुझाइन्छ

आखिर “यहि त प्रकृति हो ”

“जहाँ पीडित हुन्छन् त्यहि पीडक हुन्छन्
जहाँ शासन हुन्छ त्यही शासक हुन्छन् ”

“सदियौदेखी फूलहरू चुँडिनकै निम्ति हुर्किन्छन् ”

“आफू चुँडिएर दोश्रोको उत्साहमा सरिक हुनु फूलहरूको असुल हो ”

“जब तिमी चुँडिन्छौ तब त सजिन्छ मेहेफिल”

“सुहागरातको सयनकक्ष होस् या
कुनै राजा महाराजको पैताला ”

“तिम्रो वासनामा लिन भएर मनाइन्छन् कति उत्सवहरू”

“यहि त फूलहरूको नियती हो”

के तिनलाइ अन्दाजा छ ?
तिम्रो पिडाको , समर्पणको
तिम्रो गिर्दै र सकिदै गरेको अस्तित्वको ?

अँह यो आशै नगर

उनिहरू सदियौ देखी तिमीमा भएको सुन्दरता , कोमलता र सुगन्ध पान गरि आफू बाँच्छन र रमाउछन् ।

त्यसैके ए फूलहरू हो !
अब बहिस्कार गर्नै पर्छ यो नियती ,
अब तोड्नै पर्छ तिमीले यो परम्परा ,
ल्याउनै पर्छ यो सिलसिलामा तिमीले क्रमभंगता ,
गर्नै पर्छ पुरातन सोचहरूमा पराकंपन ,
र देखाउनै पर्छ प्रकृतिमाथी कायापलट ।

भलै त्यो बेला तिमी अभद्र उत्तेजक र अराजक कहलिनेछौ
तर याद गर
युगले तिमीलाइ सधै स्मरण गर्नेछ
एउटा अलौकिक परिवर्तनको यात्रामा

प्रिय फुल !
गर एउटा मीठो परिकल्पना
जहाँ सिर्फ
सुशोभित , सुन्दर , कोमल बनी तिमी मौन सजिन्थ्यै दृश्यमा
अब त्यहाँ संगाल्नेछन् फूलहरूले दिनहुँ
निर्दयी ,निर्मम , मजबुत पत्थरहरू संग टकराउने एउटा मीठो अनुभव ।

तब बदलिनेछ दृष्टिकोण ,
बद्लिनेछन् तिम्रा अनुरागिहरू
प्रेम हुनेछ ,लगाव हुनेछ
तिम्रो बदलिँदो प्रतिक्रियात्मक स्वभाव संग पनि ।

अनि नियाल दुर सम्म त्यो भिड ,
अब म तिम्रै बाटोमा उभिइरहेकी छु तिम्रै अनुरागी बनेर ।।

– सुमिना ‘अभिलाषी’
बुटवल रुपन्देही