चीनका एक मन्त्रीले १ करोड ७३ लाख डलर घुस खाएको आफैले स्वीकारे - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

चीनका एक मन्त्रीले १ करोड ७३ लाख डलर घुस खाएको आफैले स्वीकारे



बेइजिङ (एजेन्सी)- कानुन कार्यान्वयनमा कडा नीति अनुसरण गर्ने गरेका चीनका एक पूर्वन्यायमन्त्रीले आफूले १ करोड ७३ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतसमक्ष स्वीकार गरेका छन् ।

बिहीबार उत्तर पश्चिमी प्रान्त जिलिनस्थित चाँगचुन मध्यवर्ती जन अदालतमा ६७ वर्षीय फु झेंगुआविरुद्ध मुद्दा सुरु भएको हो । तीन महिना भन्दा केही अघि उनलाई घुस खाएको र व्यक्तिगत फाइदाका लागि कानुन बङ्ग्याएको आशंकामा पक्राउ गरिएको थियो ।

अदालतकाअनुसार फुले आफ्नो अपराध स्वीकार्दै पश्चात्ताप पनि गरेका छन् । गत वर्ष चीनको भ्रष्टाचारविरुद्धको प्रमुख पहरेदार, अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोगले कुनै समय कानुनकै रखवालाका रूपमा चर्चित फुमाथि अनुसन्धान सुरु गरेको थियो ।

चीनको आधिकारिक सरकारी समाचार निकाय सिन्ह्वाले गत मार्चमा पार्टीको अनुशासन र नियम उल्लंघन गरेको आरोपमा फुलाई चिनियाँ कम्युनिस्ट पार्टी र सार्वजनिक कार्यालयबाट निष्कासन गरिएको जनाएको थियो ।

मुद्दाको दौरान सरकारी वकिलहरूले फुले सन् २०१४ देखि २०१५ सम्म बेइजिङको सार्वजनिक सुरक्षा ब्यूराको निर्देशक पदमा रहँदा आफ्नो भाईले गरेका सन्दिग्ध अपराधका प्रमाणहरू पनि लुकाउन खोजेको अरोप लगाएका छन् ।अदालतले कारबाही रोकेर अर्को पटक उनलाई सजाय सुनाउने जनाएको छ ।