संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे फरेन्सिक विज्ञहरु बोलायो - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे फरेन्सिक विज्ञहरु बोलायो



काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको भन्दै त्यसको छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनको अध्ययन थालेको छ।

समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ।

आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका थिए। त्यसपछि विज्ञसहितको टोलीसँग बैठक बस्ने गरी स्थगित गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जनाकारी दिए। बैठक आजै अपराह्न चार बजे बस्नेछ।

‘केही विषय प्राविधिक रहेका छन्। फरेन्सिक ल्यावसँग सम्बन्धित विज्ञहरु चाहिने भएकाले अहिले बैठक स्थगित भएको छ‘ सचिव अर्यालले भने, ‘साँझ ४ बजे विज्ञहरुसँग बसेर प्रतिवेदन सम्बन्धमा छलफल हुन्छ।’

प्राविधिक विषय भएको र समितिका सदस्यहरुले मात्र यसबारे जानकारी पाउने भन्दा पनि फरेन्सिकको सम्बन्धित टिमले नै यसबारे जानकारी गराएपछि एकीन भन्न सकिने अर्यालले बताए।

‘प्रतिवेदनमा लेखिएको विषयमा मात्र भन्दा पनि प्राविधिक विषयका बारेमा उहाँहरुले नभेनेसम्म यो छ उ छ भन्न सक्ने अवस्था छैन। जसले गर्नु भयो जानकारीका लागि उहाँहरुलाई बोलाउने हो।’ उनले भने।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।