तपाईँ खाना खाँदै हुनुहुन्छ कि विष ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

तपाईँ खाना खाँदै हुनुहुन्छ कि विष ?



 -बाबुलाल भण्डारी

सही  खानपानले सयौँ औषधि बराबरको काम गर्छ भन्ने युक्ति आर्युवेदमा पाइन्छ। पश्चिमा औषधि प्रणालीका जनक हिपोक्रेट्सको खाना नै हाम्रो औषधि बन्नु पर्छ भन्ने शाश्वत भनाइको मर्म र आधुनिक पोषणविदहरूको मान्यता पनि मोटामोटी यस्तै देखिन्छ। साँचो अर्थमा खाना भोकको तृप्ति वा मुखको मिठासभन्दा विज्ञानले छिचोल्न नसकेको प्रकृतिको अपरिमेय बुद्धिमत्ता र ऊर्जालाई हाम्रो शरीरभित्र ल्याउने जीवनदायिनी माध्यम पनि हो। यसैले गलत आहार र खानपानको गलत तौरतरिका रोग र सबै शारीरिक विकारहरूको लागि प्रमुख रूपले जिम्मेवार बन्ने कुरामा विवाद हुन सक्तैन।अझ आर्युवेदको सनानत शास्त्रीय मतबमोजिम हामीले के खान्छौँ भन्दा पनि हामी खाना कसरी खान्छौ भन्ने कुराले ज्यादा अर्थ र महत्त्व राख्दछ र आश्चर्य नरहोस्, आधुनिक वैज्ञानिक अनुसन्धानहरूबाट समेत झण्डै यही कुराको पुष्टि र समर्थन हुदै आएको छ।यसको तात्पर्य खानाप्रतिको भावनात्मक अनुराग र सचेतना सहित पूरापुर शारीरिक र मानसिक उपस्थिति खानाको प्रमुख तत्त्व हो जसमा हामीले सोच पुऱ्याउन भ्याएका हुदैनौँ।

आजको व्यस्त दिनचर्यामा खानामाथिको अनिवार्य एकाग्रताबाट पुरै बहकिएर, कार्यालयका लागि समय ढिप्क्याएर हतारहतार खाइसक्नु वा टिभीमा अपराध कथा हेर्दै, कम्प्युटर स्क्रिनमा काम गर्दै वा मोबाइल फोनमा विवाद गर्दै र अझ घरका सदस्यसँग झर्कोफर्को गर्दै असन्तुष्टि, तनाव, चिन्ता र व्यग्रताका बीच खाना खान हामी सबै अभ्यस्त छौँ। यस्तो विभाजित मनोदशामा खाएको राम्रै खानाले पनि मन र शरीरमा पोषण, यसका प्रणालीमा सन्तुलन र शरीरमा शक्ति,स्फूर्ति र ओज ल्याउनको साटो तमाम खाले गडबडी र व्याधीहरूको सूत्रपात गर्दछ।

पाचनसम्बन्धी समस्या र यसबाट जन्मिने धेरै रोग खासमा पेटबाट नभएर पहिले मस्तिष्कबाटै थालनी हुन्छन् भन्ने भनाइमा निश्चित वैज्ञानिक आधारहरू भेटिन्छन्। आजको मान्छे महङ्गी, बेरोजगारी, आर्थिक समस्या, पारिवारिक झञ्झट, कार्यक्षेत्रको दबाब र त्यसैगरी सडक जाम, हत्याहिसांका समाचार, महत्त्वाकाङ्क्षा र प्राप्तिबीचको असन्तुलनले हमेसा अशान्त र तनावमा बाँचेको छ। वैज्ञानिकहरूले यस्तो अवस्थालाई सिम्पथेटिक स्नायुको अवस्था भन्दछन् जसमा उद्विग्नता, छट्पटाहट, व्यग्रता, रिस, चिन्ता र भय जस्ता संवेगहरू प्रवल हुन्छन् र हाम्रो स्नायुप्रणाली फाइट अथवा फ्लाइट (लड वा भाग) को सङ्कटकालीन प्रतिक्रियाको निम्ति तर्सेको विरालो जस्तै चनाखो बनीरहन्छ। यस्तो वेलामा मुटु, फोक्सो र विशेषगरी दिमाग र टाउकोको मांसपेसीतर्फ ज्यादा रगत एकोहोरिए सँगै स्वाभाविक रूपले रक्तचापमा वृद्धि एवम् स्वासप्रश्वास र हृदयको गति तेज हुने लक्षणहरू देखा पर्न थाल्दछन्। फलतः बढ्दो रक्तचाप र हृदयको चालसहित सिङ्गो तनावको अवस्थालाई समायोजन गर्न शरीरले एकातिर एड्रिनलिन  भन्ने स्ट्रेस हर्मोन निष्कासनमा अत्यधिक वृद्धि गर्छ भने अर्कातिर विभिन्न अङ्ग र मांसपेसीमा तुरुन्त आवश्यक पर्ने थप तागतका निम्ति इन्सुलिनलाई रोकेर कलेजोले बढी ग्लुकोज पैदा गर्न थाल्छ। अझ तनावको यस्तो स्थितिमा एड्रिनलिनले आमाशय र इन्टेस्टाइनका मांसपेसी ढिला पार्दै पाचन अङ्गमा प्रवाहित हुने रगतलाई पनि अन्यत्र सोझ्याउन थाल्छ र परिणामतः पाचनक्रिया पूरै स्थगित वा अवरुद्व हुन सक्छ। त्यसैले पनि परीक्षा खराब हुँदा वा कारणवशः सद्‌मा वा चिन्तातुर भएका बेला हामीमा खाना प्रतिको अरूचि वा अनिच्छा नितान्त स्वाभाविक हुन जान्छ। पाचनकार्य यसरी बन्द वा सिथिल भएको अवस्थामा खानाको खन्डीकरण, प्रशोधन र अवशोषण सबै लथालिङ्ग हुने र लिकीगट हुदैं यस्तो आंशिक पचेको खाना हाम्रो प्रणालीभित्र आइपुग्दछ। सदियौँदेखि आयुर्वेदमा आम भनेर पर्गेल्दै आएको यो त्यही वस्तु हो जसलाई चिकित्सा विज्ञानले टक्सिन अर्थात विषादी भनेर बुझ्न थालेको छ। शरीरका लागि बिजातीय यस्तो वस्तुलाई हाम्रो प्रणालीले पनि चिन्न नसकी एलर्जिन वा चुनौतीका रूपमा व्यवहार गर्न थाल्दछ। पाचनक्रियाको अवशेष मानिने यस्तो विषादी शरीरमा भित्रिएपछि विभिन्न च्यानलहरूमा बग्न थाल्दछ र तन्तु र अङ्गहरूमा सञ्चित भई कोषीय तहको पोषण र विकार उत्सर्जनमा अवरोध गर्दै नाना प्रकारका असन्तुलन जन्माउन थाल्दछ।

यसरी भन्न सकिन्छ, सिम्पेथेटिक मोड वा अशान्त अवस्थाको भोजन नै आजका धेरै मानिसहरूका पाचन र त्यससँग जोडिएका समस्याहरूको ठूलो कारण बनेको छ। सिम्पथेटिक स्नायुको झण्डैझण्डै विलोम प्यारासिम्पथेटिक स्नायु हो।तनावको अवस्था सुध्रिए पछि यो स्नायु स्वतः क्रियाशील हुन्छ र यसमा रक्तचाप, स्वासप्रश्वास र मुटुको चाल पुनः सामान्य बन्न थाल्दछन्। तनावको अवधिभरि ज्यादा ऊर्जा खर्च हुनाले तनाव र चिन्ताको कारण हटेसँगै शरीरमा थकान, कमजोरी र भोकको समेत अनुभूति हुन थाल्दछ। अब तपाईँको शरीर, मन र स्नायु समेत धैर्य, आरामपूर्ण, सुरक्षित  र हल्का महसुस गर्न थाल्दछ र शरीर ऊर्जा निर्माण र सञ्चय, नवीकरण, मरम्मत र सन्तुलन हुँदै आरोग्यको बाटोमा ती सबै नियमित क्रियाकलापमा फर्किन्छ जो आरामको समय सञ्चालित हुन्छन्। साथसाथै इन्डोर्फिन र सेरोटोनिन उत्पादनले व्यक्तिले प्रसन्नता र सन्तोषको अनुभूति गर्न थाल्छ। यी सबैभन्दा माथि पाचनक्रियामा सबै अनुकूल परिवर्तनको पूरै जस पनि प्यारासिम्पथेटिक स्नायुलाई नै जान्छ, कारण यसैले ऱ्यालग्रन्थि र ग्यास्ट्रिक जुस उत्पादनलाई तत्काल क्रियाशील गर्नुका अलावा पाचन अङ्गहरूमा अवरुद्ध भएको रक्त प्रवाहलाई पुनः सुचारु गर्न र भोजनलाई विभिन्न अवयवमा टुक्र्याउने, पचाउने र त्यसमा भएका सबै अत्यावश्यकीय पोषक तत्वहरूलाई अवशोषण गर्नमा भूमिका खेल्दछ। त्यसैले यो पाचनक्रिया पुनः सक्रिय हुने अवस्था भनेर पनि बुझ्न सकिन्छ।

पूर्वीय शास्त्रीय परम्परामा सिम्पथेटिक अवस्थाबाट प्यारासिम्पथेटिक स्नायुको अवस्थामा जाने सबैभन्दा छोटो र सजिलो बाटो खानाअघि केहीबेर गहिरो सास लिनु हो। पूर्वीय संस्कृतिमा हजारौँ वर्षअघिदेखि अभ्यासमा रहेको प्रणायामको यो विधिमार्फत तत्काल शरीर र मनलाई शान्त र सन्तुलित पार्न सहयोग पुग्ने आजका वैज्ञानिक अध्ययनको पनि निचोड छ। एलर्जी प्रतिकृयाबाट पीडित व्यक्तिहरूका लागि त यो झनै आवश्यक कुरा हो। स्वास्थ्यको हिसाबले खाना खाने कार्य आफैँमा एउटा महत्त्वपूर्ण र सम्मानीत कार्य पनि हो। त्यसैले यसका लागि शान्त र प्रशन्नताको परिवेश हुनै पर्दछ। यस्तो परिवेशको बहालीका लागि होहल्ला, तनाव, क्रोध, व्यग्रतारहित हलुङ्गो र खुसनुमा स्थिति आवश्यक तत्त्व हुन्। यो सबै जुट्न तत्काल सम्भव नभए कम्तीमा आरामसाथ भुइँमा बसेर खाना खान कसैलाई पनि गाह्रो हुँदैन र यसो गर्दा पाचन अङ्गहरू सक्रिय बन्ने अवस्था बन्दछ। फेरि पाचन कार्य मुखदेखि नै सुरु हुने हुनाले धैर्यताका साथ राम्ररी चपाएर खाना खानु पाचनक्रियाको पहिलो सर्त हो। ऱ्याले ग्रन्थीबाट दिनमा ३२ आउन्स(९४४मि.लि) सम्म पाचक इन्जाइम निष्कासन हुन्छ र चपाउँदा ठोस खाना पनि पेटमा जानुअघि नै मिहीन लेदोमा बदलिने र यसो गर्दा इन्जाइमहरूले काम गर्ने पर्याप्त समय पाउछन्।  खानालाई मुखमा राखेदेखि निष्कासन हुने अन्तिम बिन्दुसम्म चपाउने अङ्ग दात मात्रै हुन् र नचबाई खाइएको खानाले पाचन अङ्गलाई ठूलो भार थप्‍ने र यसमा ज्यादा ऊर्जा खर्च गर्नु पर्ने हुन्छ। खानापछि ऊर्जाको सञ्चारको सट्टा थकाई र अल्छी लाग्ने कारण पनि यही नै हो। खाना चपाउँदा जिब्रो र यसका टेस्टबडहरूले मस्तिष्कलाई आवश्यक सङ्केत गर्न भ्याउने, शरीरका प्रणालीले यसलाई बुझ्न पाउने र अझ त्यसमाथि अनावश्यक रूपले बढी खाना खाइने समेत अवस्था रहँदैन। त्यसैले खानाको लागि आधा घण्टाको समय छुट्याउनु, खानालाई न्यूनतम ३२ पटक चपाउनु र जुस लिँदै हुनुहुन्छ भने पनि यसलाई १० सेकेन्ड मुखमै रोकेर राख्‍नु ज्यादा जरुरी छ। भनिन्छ, पहिले एक चौथाई खाना आँखाले लिन्छन्। यसको तात्पर्य खानाको रङ, गन्ध, स्वादहरूको भरपुर रसास्वादनमा यथासम्भव शरीरका पाँचै इन्द्रियलाई केन्द्रित गरियोस् भन्ने हो। मुख्य कुरा खानाबाट कुनै पनि प्रकारले ध्यान बहकिन नपाओस् र पूरापुर तन्मयता र महत्त्ववोधका साथ शरीरमात्र होइन, मनलाई समेत खानासँगै उपस्थित गराउने चेष्टा जरुरी छ। यसरी खाइएको खाना मात्र शरीरका लागि अमृत साबित हुन्छ। हुन पनि शरीरका लागि पोषण, ऊर्जा र स्वास्थ्यको रक्षा गर्ने खानाभन्दा परम पावन र कल्याणकारी अनुभव अर्को हुनै सक्तैन।

तर आधुनिकताको नाममा हामी हाम्रा संस्कारहरूवाट च्यूत हुनुमा रमाउन थालेका छौँ। हाम्रा बाबाबाजेहरूले खाना खानुअघि शुद्ध जललाई खानाको थालको वरिपरि घडीको सुइको विपरीत दिशामा घुमाएर अप्सानी वा भोग लगाएपछि मात्र खानालाई प्रसादको रूपमा ग्रहण गर्नुहुन्थ्यो। अहिले यो धेरैलाई हाँसोको विषय हुन सक्छ। श्रीमद्भागवद् गीताको अध्याय ४ श्लोक २४ ले “ब्रह्मार्पणौ ब्रह्महवि…………ब्रह्मकर्म समाधिना” अर्थात् ब्रह्मरुपी अग्निमा ब्रह्मद्वारा ब्रह्ममा अर्पण भएको ब्रह्मरूपी हवि ब्रह्म नै हो भनेर भोजनलाई ब्रह्म  कै रूपमा पूज्य ठानेको छ र यही मन्त्र युगौँयुग खाना पूर्वको प्रार्थनाको रूपमा सर्वत्र चल्तीमा थियो। त्यस्तै “हरिर्दाता हरिर्भोक्ता’।भुङ्ते भोजयते हरि” मन्त्रले पनि दाता हरि हो, खाने हरि हो, खुवाउने हरि हो र अन्न पनि हरि हो भनेर भोजनलाई ईश्वरीय दर्जा दिएको छ। यस्तो उत्तम भावको जागृतिले अरू कुराका अतिरिक्त रिस, राग, प्रपञ्चबाट पर मनमा सात्विक, आस्तिक र सम्यक सोच जगाउँछ र यसले प्यारासिम्पथेटिक स्नायुलाई प्रबल पार्दै पाचनक्रियामा ठूलो सहयोग पुऱ्याउँछ। खानाको विधिविधानभित्र खाना पूर्वको प्रार्थना लामै हुनु पर्छ भन्ने छैन। हाम्रो जीवनलाई सुचारु गर्ने खाना जस्तो परमावश्यक वस्तुको प्राप्तिलाई उत्सव र देवी अन्नपूर्णाप्रति एउटा सानो धन्यवाद र श्रद्धा भावले कसैलाई पनि पूरा कर्मकाण्डी, नैष्ठिक र धर्मभीरु बनाइहाल्ने होइन। यसलाई हाम्रो कर्तव्य पनि मान्न सकिन्छ, खासगरी स्वास्थ्य लाभको दृष्टिबाट। अहिले पनि खानाको पहिलो गाँसलाई श्रद्धापूर्वक ढोग्ने र खानाको मर्यादाको लागि भोजन अवधिभर मौनता अपनाउने मान्छे प्रशस्त भेटिन्छन्।

खाद्य वस्तुको सात्विक, राजसी र तामसी प्रभावको चर्चा बिना खाद्यको साङ्गोपाङ्ग चर्चा हुन सक्तैन। गीताको अध्याय १७ को श्लोक ८,९,१० ले यसलाई खुलस्त पारेका छन्। झोलिला वस्तुहरू, स्वस्थ फ्याट, स्थिरा अर्थात् आड दिने र हृदयमैत्री खानाहरू सात्विक प्रवृत्तिका व्यक्तिहरूका प्रिय खाना हुन् र यस्ता वस्तलेु आयु, स्वत्व (अस्तित्व) बल, आरोग्य, सुख र प्रीति (सन्तुष्टिको भाव)लाई बढावा दिन्छन्। यसको विपरीत खानाको तयारी पछि ३ घण्टा बितेको, स्वादहीन, दुर्गन्धित, प्रदूषित, खाना खाएर अन्तमा बचेको र छुन निषिद्ध मानिएको खाद्य वस्तुको सेवनले तामसी वृत्तिलाई वृद्धि गर्दछन्। एवम् प्रकारले ज्यादा तितो, ज्यादा अम्लिय, बढी नुनिलो, धेरै तातो, सुख्खा, तिखो स्वाद र जलनको अनुभूति दिने खाना राजसी प्रकृतिका मानिन्छन् र यस्ता खाद्यवस्तुले दुःख, शोक र आमय (रोगहरू) लाई जन्म दिन्छन्।

यी सबैको सार के हो भने जसरी अस्वस्थ मनोदशाले हाम्रो सिङ्गो पाचन कार्यलाई दुष्प्रभाव पार्छ ठीक त्यसैगरी गलत खानपानले पनि हाम्रो सोच, चिन्तन र विचार शैलीलाई दूषित गरी हमेसा गलत वृत्तितर्फ उन्मुख गराइरहन्छ। यस अर्थमा पनि स्वस्थ र सन्तुलित शरीर, मन र कर्मका लागि तामसी र राजसी प्रकृतिका भोजनबाट जति छिटो मुक्त हुन सक्यो त्यति नै उत्तम ठानिएको छ। चिल्लो पदार्थको सवालमा आजको पुस्तामा अनावश्यक सतर्कता पाइन्छ। सेचुरेटेड र ट्रान्सफ्याट हानीकारक भएको कुरामा कुनै विवाद छैन। तर अनसेचुरेटेड फ्याट अन्तर्गतको ओमेगा ३ जस्तो चिल्लो पदार्थ शरीरको परमावश्यक स्वास्थ्यवर्द्धक पोषकतत्व मात्र होइन पाचन अङ्गको लचकताका लागि समेत स्वस्थ फ्याट सहयोगी नै हुन्छ। प्रश्न धेरै थोरैको होइन बरु कुन फ्याट स्वस्थकर हुन्छ र कुन हुँदैन भन्ने पहिचान र छनौटको हो। तसर्थ फ्याटलाई पूरै निषेध गर्नुको साटो स्वस्थ तेलिय वस्तुलाई वाञ्छित मात्रामा लिनु नराम्रो होइन बरु जरुरी हो।त्यस्तै खाद्यको लागि जति नवीन फसल, उति बढी हितकारी मानिन्छ। यस्तो खानाले शरीरमा बल, पुष्ठि, बुद्धि र शौर्यको सुनिश्चितता गर्छ भने पुरानो उत्पादनले उल्टै असमयको बुढ्यौलीलाई रफ्तारमा लैजाने  आयुर्वेदिक मान्यता छ।