फलोअपमा पत्नी सहित ओली बैंकक जाँदै - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

फलोअपमा पत्नी सहित ओली बैंकक जाँदै



चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन्। नियमित स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान गर्ने तयारी भइरहेको ओलीको निजी सचिवालयले जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

सचिवालयका प्रमुख देवराज घिमिरेले अन्नपूर्णसँग भने, ‘नियमित उपचारका सिलसिलामा फलोअपका लागि हिजो-अस्ति नै जान खोजिएको हो। तर, विकनेस (कमजोरी) भएपछि अलिक दिन बसेर जाने भन्ने छ। गम्भीर अवस्था केही होइन। फलोअप उपचारका लागि जान लाग्नुभएको हो।’

ओलीको स्वास्थ्योपचार गर्दै आएको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बैंकक जाने तयारी भइरहेको छ। समय र परिस्थिति मिले आगामी बुधबार ओली बैंकक प्रस्थान गर्नेछन्। यसअघि उनी भदौ दोस्रो साता बैंकक गई नियमित उपचार गरी फर्केका थिए। ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि बैंकक जानेछिन्।

प्रदेश र प्रतिनिधिसभा चुनावका बेला ९० भन्दा बढी चुनावी सभामा सम्बोधन गरेका ओलीलाई एक सातादेखि कडा खालको झाडापखालाले सताएको थियो।