नेपाल पत्रकार महासङ्घ भारत शाखाद्वारा चितवन शाखालाई दिल्लीमा स्वागत - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेपाल पत्रकार महासङ्घ भारत शाखाद्वारा चितवन शाखालाई दिल्लीमा स्वागत



नेपाल पत्रकार महासङ्घ भारत शाखाद्वारा  भारत भ्रमणमा रहेको नेपाल पत्रकार महासङ्घ चितवन शाखाको प्रतिनिधिमण्डललाई दिल्लीमा स्वागत गरिएको छ ।

स्वागत  दिल्लीस्थित नेपाली राजदूतावासमा गरिएको थियो ।अनौपराचिका कार्यक्रम रहे पनि कार्यक्रमलाई औपचारिकता दिनको लागि भारत शाखाका अध्यक्ष लोकेश शाहा आर्यनको सभापतित्व, कार्यवाहक राजदुत   भरत कुमार रेग्मीको प्रमुख आतिथ्यता , चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा र भारतका लागि अन्नपूर्णकर्मी आशा थपलिया अतिथिको रुपमा उपस्थित हुनु भएको थियो  ।

कार्यक्रममा प्रमुख अतिथि  रेग्मीले नेपालमा निर्वाचनपछि पनि नेपाल-भारत सम्बन्ध राम्रै रहेको बताउनु भयो  । विभिन्न भारतीय सञ्चार माध्यमले नेपालमा बामगठबन्धनको सरकार बन्नै लाग्दा नेपालबाट अब खतरा रहेको समाचार छापी रहेका बेला कार्यवाहकको यस्तो प्रतिक्रिया आएको हो । कार्यक्रममा विगतमा नेपाल भारत सम्बन्ध बिग्रिएको भए पनि अहिले भने सम्बन्ध राम्रै रहेको बताउनु भयो। नेपाल-भारतबिच नजिकको सम्बन्ध अर्थात् व्यक्ति-व्यक्तिबिच भएका कारण पनि बेला-बेला सम्बन्ध बिग्रने गरेको तर्क गर्दै अहिले भने सम्बन्ध राम्रै रहेको जानकारी दिनु भयो । उहाँले भर्खरै सम्पन्न निर्वाचनपछि पनि नेपाल-भारत सम्बन्ध राम्रै रहने बताउनु भएको छ । निर्वाचन आन्तरिक कुरा भएकाले जनताले गरेको निर्णयलाई भारतले पनि अन्यथा नलिने बताउनु भएको छ । रेग्मीले भारतमा रहेका प्रवास नेपालीहरूका समस्यालाई समाधान गर्न प्रयासरत रहेको बताउनु भएको छ ।

भारतको आर्थिक नगरी मुम्बई र त्यसपछि गोवामा प्रवासी नेपालीहरूले उठाएका समस्यामा कार्यवाहक राजदूतको ध्यानाकर्षण गराउँदै पत्रकारहरूले भारतमा ज्यान गुमाउने नेपालीहरूको शव नेपाल फिर्ता पठाउन निकै समस्या रहेको बताएका थिए । कार्यवाहक राजदूत रेग्मीले भने परराष्ट्र मन्त्रालयका सचिवसँग छिट्टै बैठक गरेर परराष्ट्र मन्त्रालयमार्फत त्यसको समाधान निकाल्ने आश्वासन दिनु भएको छ । चितवन शाखाले कार्यवाहक राजदूतसमक्ष सीमानाकामा हुने समस्या, भारतमा नेपालीहरूको यथार्त तथ्याङ्क, भारतीय कारागारमा जेल जीवन बिताइरहेका नेपालीहरूको सङ्ख्या र वर्तमान अवस्थामा नेपाल भारतको सम्बन्धको बारेमा जिज्ञासा राखेका थिए। पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै रेग्मीले नेपालीहरूको तथ्याङ्क सङ्कलन गर्न भारतमा विभिन्न खालका चुनौती रहेको भन्दै गाउँ टोल स्तरमै अथवा जनगणना हुने बेला छुट्टै विवरण लिएर यकिन तथ्याङ्क लिन सकिने बताउनु भयो । त्यसै गरी भारतका कारागारमा ठुलो सङ्ख्यामा नेपालीहरू रहेको भन्दै त्यसको तथ्याङ्क सङ्कलन काम भने दूतावासले सुरु गरिसकेको बताउनु भयो ।

समारोहमा भारतभरि छरिएर रहेका नेपालीहरूका समस्या दूतावासले सम्बोधन गर्न नसकेको मुद्दा उठाइएको थियो । सो विषयमा नेपाल पत्रकार महासङ्घ भारत शाखाले भारतका विभिन्न प्रदेशमा रहेका नेपालीहरूको मुद्दा समाधानका लागि दूतावासमा छुट्टै डेस्कको स्थापना गरिपर्ने सुझाव दिएको थियो। कार्यवाहक राजदूतले सुझाव राम्रो रहेको भन्दै त्यसको पहल थाल्ने बताउनु भएको थियो।