सरकारलाई पत्रकार महासंघको कडा चेतावनी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सरकारलाई पत्रकार महासंघको कडा चेतावनी



काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा विद्युतीय कारोवार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम रोक्न माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा महासंघ कास्की शाखा सदस्य तथा ताण्डब न्यूज डटकम (साप्ताहिक) का सम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्युतीय कारोवार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम रोक्न माग गरिएको हो ।

‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधानलाई लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोवार ऐनमा कारवाही चलाउनु आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासङ्घको ठहर छ ।’

साथै महासंघले सम्पादक गिरीलाई तत्काल रिहाइको माग गरेको छ । विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउनसमेत माग गरिएको छ ।

समाचार प्रकाशन गरेको विषयलाई लिएर स्थानीय वीपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले सम्पादक गिरीलाई पोखराबाट पक्राउ गरेको हो ।