नुवाकोटकी सोमिकाले जन्माइन एकैपटक पाँच शिशु
काठमाडौं- नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी छन् । थापाथलीस्थित परोपकार प्रसूति गृहमा २८ वर्षीया तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्।
सोमबार जन्मिएका ५ मध्ये चार जना शिशु जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको अस्पतालले बताएको छ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको बताइएको छ । शल्यक्रियामा डा. सुवेदीलाई डा. दिप्ती श्रेष्ठ, डा नमिता सिङदेनले साथ दिएका थिए भने एनेस्थेसियामा डा मुकेश कुमारले नेतृत्व गरेका थिए।
त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन्।
जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ। उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको छ। ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ। अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ। जिवित चारै जना छोरी रहेको र मृत्यु भएका एक शिशु छोरा रहेको बताइएको छ।
एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ केस भएको अस्पतालले बताएको छ । यसअघि ४ वटा शिशु जन्माएको रेकर्ड थियो ।