'बेटी बचाऊ, बेटी पढाऊ' अन्तर्गत ५०० भन्दा बढी साइकल वितरण - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

‘बेटी बचाऊ, बेटी पढाऊ’ अन्तर्गत ५०० भन्दा बढी साइकल वितरण



बर्दिवास –

महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० भन्दा बढी छात्रालाई साइकल वितरण गरेका छन्। छोरीको शिक्षालाई प्रोत्साहन गर्न र शिक्षा मार्फत महिला सशक्तीकरण गर्न यसो गरिएको हो। जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवर्द्धन गर्न आफ्नो क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई सोमबार जनही एक/एक साइकल वितरण गरेका हुन्।

लोहारपट्टी नगरपालिकाले आफ्नो नगर क्षेत्रका पाँच सामुदायिक माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत ३०० छात्रालाई साइकल वितरण गरेको छ। शिक्षामा महिलाको पहुँच बढाउन, छोरी शिक्षालाई प्रोत्साहन गर्न कक्षा–१० का छात्रालाई साइकल वितरण गरिएको नगरप्रमुख शैलेन्द्र यादवले बताए। छोरीलाई पढ्न नपठाउने, विद्यालय पुगेका छात्रा पनि उपल्लो तहसम्म नटिक्ने र छोरीको पठनपाठनबारे चासो नदेखिने अवस्था चिर्न कक्षा–१० कै छात्रालाई साइकल वितरण गरिएको प्रमुख यादवको भनाइ छ।

त्यसैगरी सम्सी गाउँपालिकाले आफ्नो क्षेत्रका आधारभूत र माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत सबै छात्रालाई साइकल वितरण गरेको छ। छोरी शिक्षामा सबै तहका सरकार हरतरहले सहयोग गर्न तत्पर छन् भन्ने सन्देश प्रवाह गर्न कक्षा–८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेष फारुखले बताए।