कथा :फर्स्ट एनिभर्सरी अफ ब्रेकअप - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

कथा :फर्स्ट एनिभर्सरी अफ ब्रेकअप



मनको कौतुहलताले किन हो कुन्नि सताई रहेको छ । अचम्म लाग्छ, के कारणले मन यति साह्रै उत्सुक हुन्छ। उत्सुक हुनुको कुनै कारणले नै थिएन तर मन भने उत्सुक बन्दैछ । यो मानिसको मन भन्ने चिज यस्तो हुन्छ कि कुनै कारण बिना आत्तिन्छ । सायद धेरै चञ्चले अनि उत्सुक भएर होला मानिसको मनलाई मन भनिएको । बेजोडले भूकम्पले जमिन हल्लाए जसरी हल्लिरहेको छ मन । सायद संसारकै सबैभन्दा कमजोर मानिस म नै होला । यस अर्थमा कि म आफ्नो मनलाई यथास्थानमा राख्न सक्दिन ।

झरी परेको साँझ वायुमण्डलको हावा अलि चिसो महसुस गरिरहेको छु । बर्खाको समय छ ।सिमसिम पानी परिरहेको छ । कल्पिरहेको छु भविष्य अनि सम्झिरहेको छु विगतका पलहरूलाई । आस भन्ने शब्द पनि कति मिठो हुँदो रहेछ । कसैको आस गर्न कति सजिलो हुन्छ । केही चिजको आस गर्न जस्तो आनन्द मलाई केही पनि लाग्दैन । तर आस गर्न जति सजिलो हुन्छ त्यति नै गाह्रो हुन्छ आसलाई यर्थाथमा परिणत गर्न । मेरो राम्रो बानी भनौ कि नराम्रो जहिले पनि आस गरिरहेको हुन्छु म । अर्कोको भरमा बस्न कति अप्ठ्यारो हुँदो रहेछ , जसरी म बुवा र आमाको भरमा जिन्दगी काटिरहेको छु ।

जिन्दगी बाँचेको पनि एक बिसे तीन पुगेको रहेछ क्यारे तर अहिले सम्म आफ्नो नामको एउटा सम्पत्ति पनि जोड्न सकेको थिएन । भोलिको मिठो आसमा मात्र बाँचिरहेको छु म । हातमा डिग्रीको सर्टिफिकेट त छ तर के गर्ने कागजले मात्रै केही गर्न नसकिँदो रहेछ । डिग्री पढ्दा सम्म मैले एक कौडी पनि कमाउन सकेको छैन । समाजमा नाम र इज्जत भने दिलाउँदो रहेछ कागजी खोस्टाले । भित्र भित्रै मरिरहेको थिए म । पैसाको अभावले जलाई रहेको छ पलपल मलाई । बुवा आमासँग पनि कति माग्नु पैसा । माग्ने ठाउँ पनि छैन । के मुख लगाएर मागौँ । पैसा चाहिदा केही न केही बहाना बनाउन पर्थ्यो मलाई । भिकारीको जीवन भन्दा फरक थिएन मेरो जीवन । भिकारीले अरूसँग पैसा माग्छ भने म आफ्नो घरमा पैसा माग्छु । म पनि एक किसिमको भिखारी नै हो । अझ भनौ घर भिखारी । धन्न अहिले सम्म कसैले घर भिखारी भन्न भ्याएको छैन ।

लाग्छ आमाबुबाको लागि म बोझ बनेका छु । मेरो सोचाई हो कि यथार्थ मलाई छुट्ट्याउन गाह्रो परिरहेको छ । कहिलेकाहीँ लाग्छ व्यापार गरौँ तर लगानी गरिदिने मान्छे कोही पनि छैन । बुवासँग लगानी माग्ने हिम्मत पनि छैन । सोच्छु विदेश जान्छु तर घरपरिवारबाट साथ छैन । मेरो जस्तै अवस्था भएर होला सायद पढे लेखेका मानिसहरूले आत्महत्या गरेको । कहिले काहि त लाग्छ आत्महत्या गरौँ तर लाग्छ समस्यासँग डराएर किन आत्महत्या गर्ने । डिग्रीको खोस्टाले सिकाएको थियो आत्महत्या गर्न हुँदैन भनेर ।

अघि खाएको करेलीले गर्दा होला सायद,मुख तितो भएको महसुस भइरहेको छ । आमालाई मिठो तरकारी पकाउनु भनेर भन्न पनि सक्दिन । उल्टै जवाफ खाएको थिए ,’मिठो खानलाई त कमाएर ल्याउनु पर्‍यो नि ।’ असफलता भन्ने शब्द मेरो छाया नै रहेछ क्यारे लाग्छ यो शब्दले मलाई जीवन भर साथ छाड्दैन । जहाँ जाऊ उही असफल । सायद औसीको रातमा जन्मिएर होला जहिले पनि असफल भएको । सधैँ बेलुकाको खाना खाएर जीवनको धरातलको बारेमा सोच्ने गर्छुृ । सोचे जस्तो भइदिएको भए कति खुसी हुन्थे होला म । म मात्रै होइन संसारको सारा मानिसहरू खुसी हुन्थे होला । मेरो दिमाग नै यस्तो हो कि के हो, हरेक परीक्षामा पास हुन्छु तर राम्रो नम्बर कहिले आएन । डिग्री सम्म पदढा एक चोटि फस्ट डिभिजन आएको रेकर्ड नै छैन । सधैँ तेस्रो श्रेणी । साथीहरूले जिस्काउने नाम नै गान्धी भइसकेको छ । म पनि कति अभागी रहेछु ।

एक्कसी मोबाइल भाईब्रेट भएको महसुस भयो । मोबाइलमा फोन नआएको करिब एक साता भन्दा धेरै भएको थियो । मलाई अचम्म लाग्यो यति राती कसले मलाई सम्झियो होला । मोबाइलको स्क्रीन हेरे अनन्त लेखिएको थियो । नेपाल टेलिकम पनि हैरान भएको हुँदो हो मैले रिचार्ज नगरेको देखेर । सायद नेपाल टेलिकमको म यस्तो एउटा ग्राहक होला जसले त्रैमासिक रिचार्ज गर्ने । फोन लगातार बजिरहेको थियो तर उठाउने मन भने पटक्कै थिएन । सायद कसैले अन्त कतै भनेर गर्दा मलाई परेको होला भनेर म फोन नउठाइकन बसेको थिए । तर कैयौँ पटक फोन आएको हुनाले उठाउन पर्ने बाध्यताले फोन उठाए ।

‘हेलो’ नम्र स्वरमा मैले उठाए ।
‘हजुर नमस्ते’ उताबाट स्त्री आवाजमा उत्तर आयो ।
म अचम्मित भए यो संसारमा मलाई नि नमस्ते भन्ने मान्छे रहेछ।
मक्ख पर्दै मैले पनि ‘ नमस्ते’ भनेर उत्तर दिए ।
‘सन्चै हुनुहुन्छ ?’
‘अम अनि हजुर नि ? ‘
‘एकदम झकास छ ।’
को हो यो केटी यति साह्रै राम्रो सँग बोल्ने । अनुमान लगाउन सकिन।
‘को हो चिन्न सकिन नि ?’ मैले प्रश्न गरे ।
‘गेस गर्नुस् न ?’
‘मैले ठम्याउन सकिन ।’
‘यति छिटो बिर्सिएको मलाई ?’
मौन रहे म । उसैले मौनता भङ्ग गरी।
‘घरमा सबै सन्चै हुनुहुन्छ होला नि है ?’
मैले ‘अँ’ भनेर उत्तर दिए ।
‘अनि आमालाई कस्तो छ अचेल। ठिक हुनुहुन्छ? पत्थरी निको भयो ?’
मलाई अचम्म लाग्यो। मेरो बारेमा सबै कुरा थाहा भएको को रहेछ त ।
मैले प्रश्न गरे ‘को हो चिन्न सकिन ?’
‘मान्छेहरूले यति छिटो भुल्न सक्ने रहेछन् है । ‘ रिसको भावमा उसले भनिन।
‘म आशा ।’ पछि थपी।

म नराम्ररी तर्सिए, नतर्सौ पनि कसरी ।आशा मेरी भूपु प्रेमिका थिई । जो सँग चार वर्ष प्रेम सम्बन्धमा थिए म । आशा नाम सुन्ने बित्तिकै मेरो मन जिरिङ्ग भयो । कतै बाटोमा आशा नाम सुन्ने बित्तिकै पनि म फर्केर हेर्ने गर्दथे । सायद आमालाई पछि सबैभन्दा माया मैले आशालाई गर्थे । भन्न त भनेकै हुन हाम्रा पुर्खाले देखेको होइन लेखेको पाइन्छ । साँच्चै मेरो जीवनमा पनि त्यस्तै घटना घटेको हो । हाम्रो सम्बन्धको बारेमा लगभग सबैलाई थाहा थियो । यद्धपी आशाको घरमा पनि सबैलाई थाहा थियो र मेरो घरमा पनि सबैलाई थाहा थियो । लगभग हाम्रो जोडी सबैले ढुकुरको जोडी भनेर भन्ने गर्दथे । तर मेरो बेरोजगारीको कारणले मेरो गरिबीको कारणले उसले मलाई छोडेर गएकी हुन् ।

एकै छिन सन्चो बिसन्चोको कुरा भयो।उसले हर्षित हुँदै भनी ह्याप्पी ब्रेक अप एनिभर्सरी डियर । म नमज्जाले हाँसे । आज कै दिन हैछ हाम्रो सम्बन्ध टुटेको । एक वर्षको अन्तरालमा धेरै कुराको परिवर्तन भएको रहेछ । मैले उसको आवाज पनि बिर्सिएको रहेछु । एक वर्षमा उनले छाडेपछि म कति पीडामा थिए तर आफूलाई सम्हालेर म अगाडि बढेको थिए । उसलाई बिर्सिसकेको थिए मैले तर उसले एर्निभर्सरी मनाउँदै गर्दा मेरो मन चसक्क छोयो । आलो घाउ भन्दा बासी घाउ दर्दनाक हुँदो रहेछ । बाच्नु पर्छ सबै कुराको अनुभव गर्न पाईदो रहेछ जिन्दगी । सायद यही नै रहेछ जिन्दगी ।

पवन खाम्चा मगर
तानसेन,पाल्पा