सत्ता गठबन्धनका नेताको ‘फाइनल’ छलफल हुँदै, गठबन्धनको पनि वारपार - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सत्ता गठबन्धनका नेताको ‘फाइनल’ छलफल हुँदै, गठबन्धनको पनि वारपार



काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू छलफलमा जुट्दै छन् । आजको बैठकले संसद्मा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढ्छ भन्ने टुंगो लगाउन सक्छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक तय गरिएको छ । बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि आजको बैठक तय गरिएको हो ।

एमसीसी अनुमोदनका लागि बुधबार प्रतिनिधिसभामा टेबल गर्ने चर्चा थियो । तर, कार्यसूचीमै परेन । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अघि बढाउने पक्षमा रहेको पछिल्ला गतिविधिले देखाएको छ ।

बुधबारै माओवादी केन्द्र संसदीय दलको बैठकले अहिलेकै अवस्थामा एमसीसी संसद्मा अघि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यो निर्णयलगत्तै प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

बुधबारको संसद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार (भोलि)को संसद् बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् । त्यसैले पनि आजको गठबन्धनका नेताहरूको छलफललाई निकै महत्त्वका साथ हेरिएको छ ।

आजको बैठकले गठबन्धनको पनि वारपार हुने देखिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसी टेवल गरेको खण्डमा सरकार छाड्ने बताएका छन् ।