फेरि ५ वर्ष प्रधानमन्त्री बन्ने केपी ओलीको योग - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

फेरि ५ वर्ष प्रधानमन्त्री बन्ने केपी ओलीको योग



काठमाडौं- आइतबार भद्रपुर विमानस्थल हुँदै गृहजिल्ला झापा आइपुगेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सिधैँ पिता मोहनप्रसाद ओलीको घर पुगे। जहाँ ९३ वर्षीय पिताका साथै भाइ जयप्रकाश र बुहारीको परिवार बस्छ।

अध्यक्ष ओली जहिल्यै झापा आउँदा पिता भेट्न भद्रपुर-१ स्थित पृथ्वीनगरको घरमा पुग्छन्। २०५४ सालपछि बनेको दुई तले घरमा ओली आउँदा छरछिमेकदेखि नेता कार्यकर्ताको चहलपहल हुन्छ।

यसपालि त्यस्तै चहलपहल थियो। घरमा बुढा बा भएकाले उनका समकालीन एवं संगतमा रहेका वृद्ध पनि ओली आउने भनेपछि भेला भएका थिए। भद्रपुर विमानस्थलबाट घर पुगेपछि ओलीले झण्डै पौने घण्टा बुवा तथा छरछिमेकसँग भेटघाटमा बिताए।

ओलीले परिवारका सदस्यदेखि छिमेकी र नेता कार्यकर्तासँग हालखबर सोध्नेदेखि फोटो खिचाउनेसम्म सहज रुपमा गरे। एकातिर ओली थिए भने अर्कोतिर उनका पिता मोहन बसेर भलाकुसारी गरे। ओलीलाई भेटेका छरछिमेकको भनाइमा ओलीले सञ्चोबिसञ्चो हाल खबर सोधेका थिए। उपस्थित स्थानीयका गुनासा पनि सुनेका थिए।

वृद्ध छिमेकी कर्णबहादुर कार्कीले ओलीलाई सञ्चो/विसञ्चो सोधेको बताए। छिमेकी मन्दिरा कोइरालाले पनि ओली जहिल्यै आउँदा भेट हुने गरेको र गाउँलेका गुनासो सुन्ने गरेको बताइन्।

पिता मोहनप्रसादले केपीलाई राम्रै छ भनेर सोधेको बताए। आफ्नो छोरासँग बेलाबेला कुरा हुने गरेको र काठमाडौं बोलाउने गरेको बताए। ‘तर म काठमाडौ जान्न। उता घुम्न पाइन्न। घरभित्रै थुनिनुपर्छ। यहाँ घुम्न पाइन्छ। ओखती उपचारमा सहयोग गर्नुपर्छ। छोरासँग बेलाबेला फोनमा कुरा हुन्छ। काठमाडौं बोलाउँछ। तर मलाई यतै ठिक लाग्छ। यता एक्लै डुल्न पाइन्छ। उता निस्किन पनि पाइँदैन,’ उनले सुनाए।

मोहनले केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग रहेको पनि बताए। ‘मेरो आशिर्वाद पनि छ। भएपछि अब ५ वर्षलाई हुन्छ। फागुनपछि हुने योग छ। एमाले पहिलो पार्टी हुन्छ। एकदम राम्रो योग छ। सफल होस्, मेरो शुभकामना छ,’ उनले भने।

मोहनले छोरा फेरि प्रधानमन्त्री हुने बताइरहँदा घरभित्रबाट निस्किएका अध्यक्ष ओलीले ‘बुवा म जान्छु है’ भनेर नमस्ते ढोग गरेर विदा भए। मोहनले राम्ररी गएस् भनेर आशिर्वाद दिए।

जब कुमारीले मास्क खोल्न लगाइन्

पितासँग विदा मागेर जब ओली निस्किँदै थिए, त्यतिकैमा स्थानीय छिमेकी कुमारी लिम्बू भेट्न आइन्। उनले मास्क खोल्न लगाइन हेर्नलाई। सधै फोटोमा मात्रै देखेको भन्दै आग्रह गरेपछि ओलीले मास्कमात्र खोलेनन्।

नजिकै बोलाएर तस्बिर पनि खिचाए। सँगै कलाकार विल्सन विक्रम राईले पनि तस्बिर खिचाए। कुमारीका छोरालाई पनि ओलीले बोलाएर तस्बिर खिचे। के कसो भनेर हालखबर सोधे। अनि ओली पिताको घरबाट बिर्तामोडतिर लागे।