दर्ता नभए फेसबुक, ट्विटर बन्द गर्ने सरकारको सङ्केत - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दर्ता नभए फेसबुक, ट्विटर बन्द गर्ने सरकारको सङ्केत



काठमाडौं– सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा सञ्चालनमा हुने सबैखाले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने बताएका छन्।

सरकारका निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राष्ट्रिय कानुनअनुरुप दर्ता भएरमात्र सञ्चालन हुन पाउने व्यवस्था गर्न लागिएको बताएका हुन्।

सरकारले यससम्बन्धी विधेयक बुधबार मात्रै संसदमा पेस गरिसकेको छ। विधेयकमा भएको प्रावधानलाई बाहिर अपव्याख्या गरिएको भन्दै उनले फेसबुक, ट्विटर बन्द गर्न नखोजिएको प्रष्ट पारे।

‘हामीले बन्द गर्ने भनेर भनेकै छैनौं,’ उनले भने, ‘नेपालबाट अर्बाैं रकम समाजिक सञ्जालमार्फत बाहिरिरहेको छ, यहाँ यत्रो व्यापार गर्ने कम्पनी दर्ता हुनैपर्छ, राज्यले कुनै पनि करजन्य लाभ लिन पाइरहेको छैन। विश्वका कम्तिमा २६ देशमा फेसबुकले कार्यालय खोलेको छ भने हाम्रोमा पनि खोल्नु पर्छ।’

सरकारले सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउन नखोजेको उनले स्पष्ट पारे। ‘हामीले बन्द गर्न खोजेका होइनौं, निर्वाध चलाउन पाइन्छ,’ उनले भने, ‘तर दर्ता भएनन् र राज्यलाई अफ्ठेरो भएका अवस्था आए त्यही बेला सोचौंला।’

प्रतिनिधसभामा यससम्बन्धी ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता भइसकेकाे छ।