फेसबुक, इन्स्टाग्राम र ह्वाट्सऐपमा विश्वभर समस्या : यस्तो छ कारण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सऐपमा विश्वभर समस्या : यस्तो छ कारण



काठमाडौं– सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम र ह्वाट्सऐपको लगइनमा बुधबार रातिदेखिनै समस्या आएको छ।

नेपालसहित विश्वभर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यी तीन वटै प्ल्याटफर्म लग इनमा समस्या देखिएको बताइरहेका छन्।

एप्स तथा ब्राउजरबाट फेसबुक लगइन गर्दा ‘फेसबुक डाउन’ भएको म्यासेज पठाइएको छ।

सो समस्या हालसम्म पनि सुल्झिन सकेको छैन। फेसबुक, इन्स्टाग्राम र ह्वाट्सऐपको समस्याका बारेमा धेरै प्रयोगकर्ताहरुले अन्य प्ल्याटफर्ममा पोस्ट गरेका छन्।

यसबारेमा साइट तथा एप्लिकेसनमा लगइन गर्न समस्या रहेको फेसबुकले स्पष्ट पारेको छ। फेसबुकबाट गरिएको आधिकारिक ट्विटमा भनिएको छ, ‘हामीलाई थाहा छ कि केही प्रयोगकर्ताहरुलाई फेसबुक र फेसबुक परिवारसँग जोडिएका अन्य केही एप्सहरु प्रयोगमा बाधा भइरहेको छ। हामी यथाशिघ्र यो समस्या सुल्झाउन प्रयासरत छौं।’

फोटो र भिडियो सेयरिङ एप इन्स्टाग्राम र म्यासेजिङ एप ह्वाट्सऐपको स्वामित्व पनि फेसबुकसँगै छ। यी दुबै एपको पनि लगइनमा समस्या देखिएको छ।

समस्या के-के छन्?

विश्वभरका सबै प्रयोगकर्तामा भने यो समस्या छैन। सुरुमा प्रयोगकर्ताहरुले फेसबुक प्रयोग गर्न समस्या भइरहेको गुनासो गरेका थिए।

कोही प्रयोगकर्तालाई लगइनमै समस्या भइरहेको छ। कसैको न्युज फिड खाली थियो त कसैको पेज र प्रोफाइल खुलिरहेको थिएन। यो समस्या स्मार्टफोन एप्समात्र नभई ब्राउजरबाट लगइन गर्दा पनि देखिएको छ।

त्यस्तै कुनै पनि सामाग्री सेयर हुन सकेको छैन।

पछि प्रयोगकर्ताहरुले यो समस्या इन्स्टाग्राम र ह्वाट्सऐपमा पनि रहेको गुनासो गरेका थिए। ह्वाट्सऐपमा फोटो, भिडियो र अन्य कुनै एट्याच गरिएका सामाग्रीहरु पठाउन समस्या आइरहेको छ।

‘डाउन’ हुनुकाे कारण के?

फेसबुकले यो समस्या डिडिओस आक्रमणका कारण नभएको स्पष्ट पारेको छ।

उसले भनेको छ, ‘जब ह्याकरले कुनै वेबसाइटमा नक्कली ट्राफिक पठाइदिन्छन्, तब उक्त साइटको सर्वरमा बोझ बढेर साइट ढिलो हुने वा ठप्पसमेत हुनसक्ने अवस्था आउनसक्छ। यसलाई डिस्ट्रिब्युटेड डिनाइल अफ सर्विस एट्याक (डिडिओएस) भनिन्छ।’

‘डाउनडिटेक्टर’ नामक वेबसाइटका अनुसार विश्वभरका ११ हजार प्रयोगकर्ताले फेसबुकमा समस्या आएको गुनासो गरेको बताएको छ। यो वेबसाइटमा अन्य कुनै वेबसाइटमा केही समस्या आउनासाथ गुनासो गर्न सकिन्छ।

फेसबुकमा आएको समस्याका बारेमा धेरै प्रयोगकर्ताले ट्विटरमा गुनासो गरिरहेका थिए। अझै पनि धेरै प्रयोगकर्ताहरुले फेसबुकका स्क्रिनसटसहित ट्विट गरिरहेका छन्।
प्रयोगकर्ताले समस्या रहेको बताइरहेपनि फेसबुकबाट भने कति समयमा यो समस्या हल हुन्छ भन्नेमा कुनै पनि सूचना जारी गरिएको छैन।