फर्किएर हेर्दा-कविता - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

फर्किएर हेर्दा-कविता



सबेरै सबेरै चहकिलो बनेर ,
पूर्वको क्षितिज अङ्कमाल गर्दै
स्पर्श गरेपछी त्यो दिनको घामले
यो मथिङ्गलभरि

जुर्मुराएका एक भारी सपनाहरू
पिठ्युँमा फाल्दै ,
साकारताको फाँटतिर दैनिकी हानिएको
हिजो जस्तै लाग्छ !

हिजो जस्तै लाग्छ !
प्रारम्भिक समयको कलिलो ढोकाबाट
जीवनको एक सशक्त लक्ष नियाल्दा ,

नियमित अभ्यास मार्फत
निकट भविष्यमै प्राप्तिने
छताछुल्ल सम्भावनाले ,
निडर भएर सफलताको
एउटा बुलन्द पुर्बउद्घोष गरेको
हिजो जस्तै लाग्छ !

हिजो जस्तै लाग्छ ,
क्यालेन्डरका पत्ताहरू पल्टाउँदै जाँदा
घरको भित्तामा अड्याइएको
पुरानो थोत्रो क्यालेन्डरलाई डस्बिनमा फ्याँकी
त्यही ठाउँमा
नयाँ क्यालेन्डर लगाएको
हिजो जस्तै लाग्छ ,

हिजो जस्तै लाग्छ
हृदयबाटै एउटा नवीन
हौसलाको उदय गर्दै ,
केही अपुर कार्यहरू पूर्ण गर्ने प्रतिबद्धता सहित
सफलताले प्राप्तिने सफथ खाएको
हिजो जस्तै लाग्छ !

तर ,
आज गिज्याइरहेछ त्यही समय
फन्को मारी फेरि त्यही ठाउँमा उभिएर
उपहास गर्दै परिहासले
एक अन्तरालको समाधिस्थलमा उभिएर…

उजागर गर्दै – अपुरा सपनाहरू ,
उत्खनन गर्दै – कोसौँ भागेका लक्षहरू ,
छरपस्ट पार्दै – अकिन्चन बनेका अठोटहरू !

रहरहरू जीवित रहँदै
अहो ! डुब्दो बनेछ त्यो घाम !
निराशमय छ पश्चिमको क्षितिज
वियोगले भावुक भएर !

म स्मरण गर्दैछु क्रमबद्ध
ब्यतित एक एक पलहरू ,
सिनेमाहलको पर्दामा जस्तै क्रमिक
मथिङ्गलबाट एक – एक स्मरणहरू
फर्किएर नियाल्दै यति बेला
सालभरकै अन्तिम रातको यो
वियोगान्त आँचलबाट ।

-सुमिना अभिलाषी