काँग्रेसको मतपेटिकामा भेटियो फर्जी मत - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

काँग्रेसको मतपेटिकामा भेटियो फर्जी मत



काठमाडौं- नेपाली काँग्रेसको मत ट्यांकीमा फर्जी मत भेटिएको छ । त्यसपछि निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको मत परिणाम सच्याएको छ । यसअघि डा. शेखर कोइरालाले पाएको भनिएको १ हजार ७ सय २९ मतबाट २७ मत घटाएर १ एक हजार ७०२ मत कायम गरिएको छ ।

त्यसैगरी विमलेन्द्र निधिले पाएको मतमा एक मत थपेर २५० मत कायम गरिएको छ भने कल्याण गुरुङको मतमा २ मत थपेर २२ मत कायम गरिएको मिडिया सेन्टरका सुरेश आचार्यले जानकारी दिए ।

यसअघि सार्वजनिक गरिएको शेरबहादुर देउवाको २ हजार २५८ मत कायमै भएको छ । त्यस्तै प्रकाशमान सिंहले पाएको ३७१ मत पनि सदर भएको छ । कुल ४ हजार ६८१ मतदातामध्ये ७७ मत बदर भएको आचार्यले बताए ।

यसो गर्दा बदर र प्राप्त मतको योगफल कुल खसेको मत ४६८१ भन्दा एक मत बढी हुन जान्छ । त्यो ट्याङ्कीमा त्यो एक मतचाहिँ बढी कहाँ बाट आयो भन्ने खुलेको छैन। सभापति पदमा कुल मतदाता सङ्ख्याभन्दा खसेको मत २३ बढी देखिएको थियो ।

निर्वाचन परिणाम अनुसार जम्मा ४ हजार ६८१ मत खसेकोमा ७७ मत बदर भएको छ । बाँकी मत मध्येबाट शेरबहादुर देउवाले २ हजार २५८ मत, डा. शेखर कोइरालाले १ हजार ७२९ मत विमलेन्द्र निधिले २४९ मत प्रकाशमान सिंहले ३७१ मत र कल्याण कुमार गुरुङले २० मत प्राप्त गरेको समितिले जनाएको थियो ।

आचार्यले दिएको यो विवरण अनुसार कुल मतदाताभन्दा २३ मत बढी देखिएको थियो । कुल मतदाता ४ हजार ६८१ जना रहेको भनिएको छ । तर, पाँच जना सभापतिका उम्मेदवारले पाएको मत र बदर मत समेत जोड्दा ४ हजार ७०४ मत हुन्छ ।