के तपाईं फेस एपबाट बुढो हुनुभयो ? - अब यस्तो हुनसक्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

के तपाईं फेस एपबाट बुढो हुनुभयो ? – अब यस्तो हुनसक्छ



वाशिङटन । अहिले सामाजिक सञ्जालमा फेस एपको चर्चा व्यापक रुपमा भइरहेको छ । एपमार्फत् मानिसहरुले आफ्नो बृद्धावस्थाको तस्बिर अहिले सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमा यसको प्रयोग अन्धाधुन्द भइरहेको देखिन्छ । यो एपले कुनै पनि व्यक्तिको तस्बिरलाई कृतिम तरिकाबाट बृद्ध अनुहारमा परिणत गरिदिन्छ । तपाईँलाई आफ्नो बृद्धाबस्थाको तस्बिरले जति रोमाञ्चित गरिरहेको छ त्यसबाट तपाईँलाई खतरा पनि छ ।

यो रुसले बनाएको एप हो । जब तपाईंको तस्बिर बदल्नका लागि पठाउनुहुन्छ त्यतिबेला यो फेस एप सर्भरसम्म जान्छ । फेस एपले त्यतिबेला तस्बिरलाई छानेर अपलोड गर्छ । कृतिम इन्टेलिजेन्समार्फत् यसको परिवर्तन गरिन्छ । यसमा सर्भरको पनि प्रयोग हुने गर्छ । एपमार्फत् नै तपाईँले फोटो खिच्नुपर्ने हुन्छ । तर, यो एपबाट तपाईँले आफ्नो एक फोटो मात्रै होइन धेरै कुरा दिइरहनु भएको हुन्छ । तपाइँको यो तस्बिरको निजी प्रयोग मात्रै भइरहेको लाग्न सक्छ । तर, त्यति मात्रै होइन । यसको सार्वजनिक रुपमा प्रयोग पनि हुन सक्छ । यो एपले तपाईँको फोनको सूचना प्राप्त गर्न सक्छ । र, यो सूचना विज्ञापनमा प्रयोग गर्न सकिन्छ । यो एपले आदत र रुची समेत बुझ्ने प्रयासमा लाग्न सक्ने बीबीसीले जनाएको छ ।

यसो भएमा त्यसलाई विज्ञापनमा प्रयोग गर्न सकिन्छ । यसलाई मार्केटिङ्गको हतियारको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कैयौं मानिसले यो कुरामा चिन्ता पनि जनाइरहेका छन् । यो एप फोनको सबै तस्बिरसम्म पुग्न सक्छ ।

कैयौै मानिसको दाबी कस्तो पनि छ भने यो एप खोल्नासाथै इन्टरनेटमा सबै तस्बिर अपलोड पनि हुन थाल्छन् । यद्यपि आइओएस र आइफोनमा कुन फोटो अपलोड गर्ने र कुन नगर्ने भन्ने सुविधा छ । फेस एपलाई लिएर अमेरिकी माथिल्लो सदन सिनेटमा पनि चिन्ता व्यक्त गरिएको छ । सिनेटमा अल्पसंख्यक नेता चुक सुमेरले यो फेसएपको जाँचको माग गरेका छन् । उनले ट्विटरमा एउटा चिठी नै हालेर भनेका छन्,‘‘यो ज्यादै चिन्ताजनक कुरा हो । अमेरिकी नागरिकको निजी डेटा विदेशी शक्तिले हासिल गरिरहेका छन् ।’’

ट्विटरमा एक पत्र प्रस्तुत गर्दै सुमेरले यो कामलाई गहिरो चिन्ताको विषय भएको बताएका छन् । यसबाट कुनै पनि अमेरिकी नागरिकको व्यक्तिगत तथ्यांक विदेशी शक्तिमा जाने उल्लेख गरेका छन् । गोपनीयताको चासो भएको भन्दै उनले संकेत गरेको सो एप अहिले विश्वव्यापी रुपमा भाइरल भइरहेको छ । फेस एपले यसअघि आफूमाथि लगाइएको आरोप खण्डन गरेको थियो । रसियाको सेन्ट पिटसवर्गमा रहेको वायरलेस ल्याब कम्पनीले आफूले स्थायी रुपमा नै तस्बिरहरु भण्डारण नगर्ने बताएको छ ।

यसैगरी डाटाहरु पनि संकलन नगर्ने जनाएको छ । प्रयोगकर्ताले अपलोड गरेको फोटोलाई आफूले अपलोड मात्रै गर्ने समेत सो कम्पनीले जनाएको छ । कम्पनीको आर एण्ड डी टिम रसियामा रहे पनि डाटा रसियालाई उपलब्ध नगराइने कम्पनीको वक्तव्यमा दाबी गरेको छ । यद्यपि सुमेरले एफबीआई र फेडरल ट्रेड कमिसनले फेस एपको छानबिन गर्नुपर्ने माग गरेका छन् । (बीबीसी)