सेल्फी खिचेकै कारण ज्यान मार्ने धम्की ! कारण यस्तो जुन बन्यो विश्वभर चर्चाको विषय ! - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

सेल्फी खिचेकै कारण ज्यान मार्ने धम्की ! कारण यस्तो जुन बन्यो विश्वभर चर्चाको विषय !



काठमाडौं ,एजेन्सी ।। एक महिनाअघि सारा इदान मोतिका दानाले सजिएको गाउनमा मिस युनिभर्समा इराककको प्रतिनिधित्व गरेकी थिइन् । यो इराकले ४५ वर्षमा भाग लिएको पहिलो पटक थियो ।

‘म सातौँ आश्चर्यमा थिएँ, मैले त्यही दिनको सपना देखिरहेकी थिएँ’ उदाउँदै गरेकी २७ वर्षीया गायिका इदानले भनिन् । तर सबै कुरा एकैछिनमा परिर्वतन भयो । त्यो पनि एउटा सेल्फीले ।

एउटा सेल्फी जुन विश्वभर अहिले चर्चाको विषय बनेको छ । इदान र मिस इजरायल अदार गान्डेल्सम्यानको मिस युनिभर्सको फोटो शुट हुनुभन्दा पहिले नै सेलफी खिचेका थिए । ‘मैले भने एउटा तस्बिर खिचौँ ताकि मानिसहरुलाई लाग्नेछ हामीबीच कुनै समस्या छैन, हामी वास्तवमै शान्तिका दूत हौँ ।’ उनले तस्बिरको क्याप्सनमा लेखेकी थिइन्, ‘मिस इराक र मिस इजरायलको तर्फबाट माया तथा शान्तिको कामना ।’

 

तर प्रतिक्रिया उनले सोचेजस्तो भने आएन । प्रतियोगिता आउनुभन्दा ठिक ६ दिन पहिले उनलाई मिस इराकको आयोजक संस्थाबाट धम्की आयो । उनलाई फोटो हटाउनका लागि आग्रह गरियो । फोटो नहटाए उनको ताज खोसिने चेतावनीसमेत दिइयो । अरुले उनको ज्यानै लिने धम्की पनि दिए ।

उनले तुरुन्तै इराकमा आफ्नो परिवारलाई फोन गरिन् । ‘मेरो ममी रिसाउँदै हुनुहुन्थ्यो । मैले ममीलाई चिन्ता नलिन भने । उहाँ म प्रतियोगिताबाट बाहिरियोस् भन्ने चाहनुहुन्थ्यो । म प्रतियोगिता छोड्न तयार थिएँ ।’

यो सबको कारण मिस इजरायलसँगको सेलफी नै थियो । इराक र इजरायलबीच कुनै पनि कुटनीतिक सम्बन्ध रहेको छैन । त्यसैले एउटा सेल्फीले अन्तराष्ट्रिय रुपमै हलचल मच्चायो । इदानले तस्बिर हटाउन मानिनन् । मिस इराक आयोजक संस्थाका निर्देशकले उनलाई फोन गरे । उनले आफूलाई मन्त्रालयबाट दबाब आएको पनि बताए । उनले तस्बिर नहटाए ताज खोस्ने धम्की पनि दिए । उनी प्रतियोगितामा बसिनन्, उनी लस एञ्जलस फर्किइन् ।

दोस्रो दिन इदानले आफूले इजरायली सरकार र यसको नीतिलाई समर्थन नगरेको भन्दै माफी पनि मागिन् । उनले सञ्चार माध्यमसँग विवादका बारेमा केही पनि भनिनन् ।
उनी भन्छिन्, ‘इराकका मानिसले मेरो परिवारलाई चिन्दथे । मेरो परिवारलाई पनि लगातार धम्की आइरहेको थियो ।’ इदानसँग अमेरिका तथा इराकको दोहोरो नागरिकता रहेको छ । इदानको परिवारले पनि अहिले इराक छाडेका छन् ।

अहिले पनि सारा इदानलाई सामाजिक सञ्जालमार्फत ज्यान लिने धम्की आइरहेको छ । उनी आफ्नो करिअर बनाउनैमा केन्द्रित भएको बताउँछिन् । तर इराकी सरकारले समर्थन नगरेको उनको भनाई छ । यसबारेमा इराकी सरकारले अहिलेसम्म केही प्रतिक्रिया पनि नदिएको सिएनएनले जनाएको छ ।