एमालेका यी चर्चित नेताहरुले पाएनन् ठाउँ - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

एमालेका यी चर्चित नेताहरुले पाएनन् ठाउँ



काठमाडौं ।।  नेकपा एमालेका केही सक्रिय तथा प्रभावशाली नेताहरूमध्ये केही अनुहार अबको केन्द्रीय संसदको दुवै सदनमा नदेखिने भएका छन् । राष्ट्रियसभा सदस्यका लागि पहिलोपटक उम्मेदवारी दर्ता भइसक्दा दर्जन बढी एमालेका चर्चित अनुहारले कुनै पनि सदनको टिकट हात पारेनन् ।

प्रतिनिधिसभा, राष्ट्रियसभा गरी तीनमध्ये कुनैको सदनमा उपस्थिति जनाउन नसक्नुमा प्रतिनिधिसभामा व्यहोरेको हारसमेत कारण बनेको छ । संसदमा महिलाको उपस्थिति ३३ प्रतिशत हुनुपर्ने बाध्यताले समेत कतिपय नेताको सांसद बन्ने धोको पुरा हुन पाएन । जसमा, अघिल्ला सदनमा संविधान निर्माणदेखि जनताका आवाज सदनसम्म पु¥याएर चर्चा कमाएका नेता पनि छन् ।

कतिपयले समानुपातिक सूचीमा स्थान पाए पनि अन्तिममा सांसद बन्ने मोह त्याग्नु परेको छ ।
संक्रमणकालपछिको पहिलो सदनमा स्थान नपाउने नेताहरूमा शक्तिशाली मानिने पार्टीको पदाधिकारी, स्थायी समिति पोलिटव्यूरो सदस्यसमेत छन् । जसलार्ई राष्ट्रियसभामा उम्मेदवार बनाउने आश्वासनपछि प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष चुनावमा उठाइएको थिएन ।

एमालेका पार्टीका पदाधिकारी सदस्य, केन्द्रीय सचिव युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरालाई प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा पनि टिकट दिइएन । अघिल्ला सदनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुवै नेतालाई राष्ट्रियसभामा ल्याउने अपेक्षा गरिए पनि समावेश हुन सकेनन् ।

यस्तै भरत मोहन अधिकारी, अग्नी खरेल, केशव वडाल, गंगालाल तुलाधार, चुडामणी जंगलीलगायतका सक्रिय नेताहरूले नै अवसर नपाएपछि अलोचना भइरहेको छ । कानूनका जानकार खरेल अघिल्लो संविधानसभामा सबैभन्दा बढी उपस्थित हुने र प्रभावकारी भूमिका खेल्ने सभासदमध्येका एक थिए । पूर्व शिक्षामन्त्रीसमेत रहेका तुलाधारको भूमिका पनि महत्वपूर्ण थियो ।

यसअघि मन्त्री बनिसकेका, अघिल्ला सदनमा नभएका तर राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने महेन्द्रबहादुर पाण्डे, प्रदीप नेपालसमेत कुनै पनि सदनमा ठाउँ नपाउने अभागी नेता बनेका छन् ।
पार्टीको जनमत राम्रो हुँदाहुँदै, रोल्पा २ मा एमाले संसदीय दलका पूर्व सचेतक गोकुल घर्तीले पनि टिकट पाएनन् । माओवादीसंग तालमेल भएका कारण राष्ट्रियसभामा उम्मेदवार बनाउने भन्दै उनलाई पन्छाइए पनि पार्टीको राष्ट्रियसभा उम्मेदवार चयनको पछिल्ला निर्णयले घर्तीलाई आहत गर्याे ।

यस्तै पार्टीका चल्तीका नेताहरू युवराज कार्की, पुष्प कँडेल, विष्णु रिमाल, ठाकुर गैरे, कृृपासुर शेर्पा, शान्ता मानवीलगायतलाई पनि पत्याइएन । जसकारण कम्तिमा अबको ५ वर्ष उनीहरू संसद बाहिर नै रहनुपर्ने भएको छ । यस्तै मनोनित केन्द्रीय सदस्य राधाकृष्ण मैनाली, डा विजय पौडेलले पनि टिकट पाएनन् । स्थायी प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा मुकुन्द न्यौपाने, पोलिटव्यूरो सदस्यहरू रधुजी पन्त, सोमनाथ प्यासीको नाम रहे पनि महिला कोटामा ३३ प्रतिशत अनिवार्य पुर्याउनु पर्दा उनीहरू सांसद बन्ने बाटो रोकियो ।

यस्तै, प्रदेश ७ का मुख्यमन्त्रीको दावेदार मानिएका केन्द्रीय सदस्य तथा पूर्व सांसद कर्ण थपा पनि प्रदशेतर्फ समानुपातिक सूचीमा थिए । प्रत्यक्षमा महिलाको प्रतिनिधित्व नपुगेपछी एमालेले जितेको ८ वटै सदस्यमा महिला पठाउनुपर्दा उनको सांसद बन्ने यात्रामा ब्रेक लाग्यो । यसअघिका दुवै निर्वाचनमा टिकट नपाएका चर्चित अनुहारहरू बेदुराम भुसाल, पर्शु मेघी गुरूङ, कोमल वलीले भने यसपटक टिकट पाएका छन् । जसमध्ये ओली प्रदेश ५ बाट निर्विरोध निर्वाचित भइसकेकी छन् ।

माओवादी केन्द्रसँग वाम गठबन्धन गरी चुनावी तालमेल गरेका कारण यसअघि राष्ट्रिय राजनीतिमा रहेका धेरैले टिकट पाएका थिएनन् । तीमध्ये केहीलाई अहिले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाइने भनिए पनि ५६ सिटमध्ये ४३ सिटमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रलाई १४ सिट छाडेर एमालेको भागमा परेका २९ सिटमा विभिन्न क्लष्टरबाट उम्मेदवार बनाउनुपर्दा चर्चित नेताहरू छुट्न पुगेको एमाले सचिव योगेश भट्टराई बताउँछन् ।

‘पार्टीभित्र लामो योगदान गरेका, सक्षम र दक्ष नेताको ठूलो पंक्ति छ, साथै योगदान दिएका युवा पंक्ति यत्तिकै छन्, उनीहरूलाई पनि अवसर दिनुपर्ने थियो,’ भट्टराईले भने, ‘उम्मेदवारीको सिट सिमित भएकाले राष्ट्रिय राजनीतिका विभिन्न हस्तीहरूलाई समेत उम्मेदवार बनाउन पाएनौँ ।’

सांसद बन्न नपाएका नेताहरू भने संसदमा ठाउँ नपाए पनि पार्टीको कामका लागि समय दिने अवसर मिलेको बताउँछन् । माओवादी केन्द्रसँग पार्टी छिट्टै एकता हुन लागेकोले पार्टी संगठनमा गर्नुपर्ने धरै काम रहेकाले सांसद नबन्दा आफू दुखी नभएको उपाध्यक्ष ज्ञवालीले बताए । उनले जनतापोष्टसँग भने, ‘जनताको सेवा गर्न सांसद नै बन्नु पर्दैन, अबको ५ वर्ष सदन बाहिरबाटै पनि सहयोग गर्छु र पार्टी संगठनको काम गर्छु ।’
जनतापोष्टमा खबर छ ।