एमालेले माग्यो राजीनामा, प्रधानमन्त्री देउवाले छाड्लान् त कुर्सी ? - Himal Post Himal Post
  • ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
Logo

एमालेले माग्यो राजीनामा, प्रधानमन्त्री देउवाले छाड्लान् त कुर्सी ?



काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् ।

रावलले जनमतबाट पराजित भइसकेका प्रधानमन्त्री देउवाले लोकतान्त्रिक परिपार्टी अनुसार पदमा बसीरहन नमिल्ने तर्क समेत गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जनमतले पराजित गरेपछि विश्वका अन्य मुलुकमा पनि प्रधानमन्त्रीले पदबाट राजीनामा दिने स्थापित मान्यता नै रहेको दावी गरे ।

उपाध्यक्ष रावलले संविधान विपरित सरकारले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तयार पारेकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेको दावी समेत गरेका छन् ।

निर्वाचन भइसकेपछि अहिले सरकारले राजनीतिक सहमति विपरित राष्ट्रिय सभाको निर्वाचनको कुरा गर्नु अनुचित भएको उनको आरोप थियो । ‘लोकतन्त्रमा ताजा जनादेशबाट कुनै पनि राजनीतिक दल पराजित भइसकेपछि, प्रधानमन्त्री पदमा बसिरहने यो लोकतान्त्रिक परिपाटी नै होइन’, उनले भने, ‘यो संस्कार पनि होइन, सामान्यतः प्रधानमन्त्रीले यस्तो अवस्थामा नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्ने स्थापित मान्यता हो।’

नयाँ सरकार गठनको लागि प्रधानमन्त्री देउवाले मार्गप्रशस्त नगर्दा नेपाली कांग्रेस र स्वयम् देउवाको पनि लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको निष्ठालाई कमजोर बनाउने काम भइरहेको उनको गुनासो थियो ।

‘जहाँसम्म राष्ट्रिय सभासम्बन्धी अध्यादेशको कुरा छ, यो निर्वाचनबारेमा संविधानको कुनै धारामा पनि एकल संक्रमणीय व्यवस्था छ भनेर लेखिएको छैन’, रावलले भने, ‘त्यहाँ त बरु निर्वाचन हुने कुरामात्रै लेखिएको छ, त्यो निर्वाचन बहुमतको आधारमा गर्ने भनेर संविधान लेखनका बेलै सहमति भएको हो नि।’

अध्यादेशबारे हतार नगरी राष्ट्रपतिले स्पष्टता खोज्नु र स्वीकृत नगर्नु स्वभाविक भएको उनको दाबी थियो । ‘प्रधानमन्त्रीले भन्यो भन्दैमा हुन्छ र ? प्रधानमन्त्री देउवाजीले राष्ट्रपतिलाई यसरी विवादमा तानेर आफ्नो पराजयको पीडा जति अर्काको टाउकोमा हाल्नु उचित होइन’, रावलले थपे ।

निर्वाचनमा हारेपछि हतास भएर संविधानमा नलेखेको कुरा जबरजस्ती छ भन्नु गलत भएको बताउँदै रावलले कांग्रेसलाई त्यसो गर्न आग्रह गरे । ‘हाम्रो तर्फबाट हामी स्पष्ट छौं, हामी त अल्पमतलाई विश्वासमा लिएर अघि बढ्छौं’, रावलले भने ।