अपूर्व क्षितिजलाई तत्काल रिहा गर्न एमालेको माग - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

अपूर्व क्षितिजलाई तत्काल रिहा गर्न एमालेको माग



नेकपा एमालेले कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न सरकारसँग माग गरेको छ । एक स्याट्यान्डअप कमेडी गर्दा नेवा समुदायमाथि व्यङ्ग्य गरेपछि उनी थुनामा परेका थिए ।

‘एक जना हास्य कलाकार अपूर्व क्षितिज सिंहजीले केही दिनअगाडि आफ्नो पोष्टमा हास्यव्यंग्य पोष्ट गरेबापत उहाँ १० दिनदेखि थुनामा हुनुहुन्छ,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बुधबार प्रतिनिधिसभामा भने, ‘उहाँले कला प्रस्तुत गर्ने क्रममा अलिकति हाँस्य प्रस्तुतिको क्रममा केहीलाई मर्का पर्‍यो होला । कसैन कसैलाई मर्का पार्ने प्रस्तुति नै हुन्छ हाँस्यकलाहरूमा । म ती हाँस्य कलाकार सिंहलाई शीघ्र रिहाईको माग गर्न चाहन्छु ।’

छाया सेन्टरका सुरक्षा गार्ड पक्राउ परेको प्रसंग उप्काउँदै भट्टराईले अहिले सरकारका मन्त्रीहरूलाई कर्के नजर लाउँदा पनि थुनामा जानुपर्ने स्थिति रहेको बताए । ‘हुनत मन्त्रीलाई यसो कर्के नजर लगायो भने गार्डहरू थुनामा पर्ने देश हो । अहिले त्यो खालको मन्त्रीजीहरू सत्तामा आसिन हुनुहुन्छ,’ भट्टाराईले भने, ‘अब भनौँ भने के भनौँ । मन्त्रीजीलाई अलिकति आलोचना गर्‍यो भने पनि पक्राउ परेर जाने स्थिति छ ।’

आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई प्रभावित गर्न सरकारले कर्मचारी सरुवा गरिरहेको भट्टराईको आरोप थियो । यस्तो कार्य रोक्न पनि उनले माग गरे ।

सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्लाजिल्लामा खटाउने काम गरिरहेको भट्टराईको आरोप थियो । यस्तो कार्य तत्काल नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने उनले चेतावनी दिए ।

Islingtondav
स्थानीय चुनावमा राजनीतिक आस्थाको आधारमा कर्मचारी परिचालन गरी एमालेका नेता, कार्यकर्तामाथि चरम दमन गरिएको उनको जिकिर थियो । आगामी चुनावमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भइरहेको टिप्पणी गरे ।

‘सरकारले धमाधाम दीर्घकालीन महत्वका कतिपय निर्णयहरू गर्नुका साथै यही प्रतिनिधिसभामा पनि अनेक खालको विधेयकहरू ल्याएर विवेकलाई एकछिन छाडेर बहुमतको बलमा पास गराउने प्रयत्न गरिँदैछ,’ भट्टराईले भने, ‘सरकारले कर्मचारी सरुवा जभाभावी मनलाग्दी तरिकाले निरन्तर भइरहेको छ ।’

‘अलिकति पनि हामीलाई सघाउँदैन कि भन्ने लागेको छ कि ठ्याक्कै सघाई हाल्ने, बोकेरै हिँडने मान्छेहरूलाई पठाउने काम अहिलेको सरकारले गरिरहेको छ । प्रमुख प्रतिपक्ष दल हुनुको नाताले नेकपा एमाले पनि यस्तो निर्वाचनको पूर्वसन्ध्यामा बस्दा हामीले कहिल्यै त्यो खालको हर्कतहरु गरेनौँ,’ भट्टराईले भने, ‘हामी त्यसलाई कडा रूपमा प्रतिवाद गर्न चाहन्छौँ । र, जाने मान्छेहरुलाई भन्न चाहन्छौँ–नेकपा (एमाले) चुप लागेर बस्दैन ।’