एकता: एमालेकरण हैन,समान हिस्सेदारी- पम्फा भुसाल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

एकता: एमालेकरण हैन,समान हिस्सेदारी- पम्फा भुसाल



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलबीच पार्टी एकीकरणलाई लिएर समझदारी बन्न नसकेका बेला माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सम्मान, समानता र न्योचितरुपमा अर्थात दुई पार्टीको बराबरी हिस्सेदारीमा मात्रै पार्टी एकीकरण हुनु पर्ने बताएकी छन्।

पार्टी एकीकरण वस्तुगत आवश्यकता भएको र जनताले त्यसलाई अनुमोदन गरिसकेको अवस्थामा एउटा पार्टी अर्कोमा विलय हुनेगरी नभई नयाँ पार्टीलाई जन्माउने गरी एकीकरण गर्नु पर्ने उनले बताएकी छन्।

लामो कुराकानीमा नेता भुसालले भनिन्, ‘हामीले चुनाव अघि नै समानता, न्यायोचित र आपसी सम्मानका आधारमा पार्टी एकीकरण गर्ने भन्ने समझदारी भइसकेको थियो। करिव ४ दशक भिन्न धार बोकेका पार्टीबीचको एकताको विषय हो। यो पार्टी प्रवेशको कुरा पनि होइन र एउटा पार्टी अर्कोमा विलय हुने भन्ने पनि होइन । दुई पार्टीलाई मिलाएर नयाँ पार्टी जन्माउने भनिएको हो।

उनले पार्टी एकीकरणमा अझै पनि जनयुद्ध, चुनाव चिन्ह, सांगठनिक संरचना लगायतका विषयमा दुई पार्टीबीच समझदारी हुन बाँकी रहेको र त्यसमा समझदारी गर्न दुई अध्यक्षलाई जिम्मा लगाएको र उनीहरुबाटै छिनोफानो हुने बताइन्।

‘हामीले हाम्रो तहबाट हुने काम सकिसकेका छौं अव दुई पार्टीका अध्यक्षहरुबीचको छलफल, अध्ययन, बहस र निश्कर्षमा एकीकरण भर पर्ने छ’, भुसालले भनिन्।

तत्कालिन माले र माक्र्सवादीबीचको भएको एकीकरणलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै उनले भनिन,’ एकीकृत पार्टीका अध्यक्ष दुवै जना हुनेमा सहमति भइसक्यो ।

नीति निर्माण गर्ने थलो केन्द्रीय कमिटी दुवै पार्टीको बराबरी अनुपातमा निर्माण गर्नु पर्ने हुन्छ । बरु तल जाँदा न्यायोचितरुपमा संगठनको संरचना तयार पार्न सकिन्छ। माथि भने बराबरी हुँदा नै राम्रो हुन्छ ।