जन्मकैद फैसला, राष्ट्रपतिबाट आममाफी, त्यसपछि एमालेको उम्मेदवार उपहार - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

जन्मकैद फैसला, राष्ट्रपतिबाट आममाफी, त्यसपछि एमालेको उम्मेदवार उपहार



जनकपुरधाम- सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई नेकपा एमालेले सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ ।

प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादवलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

यो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका थिए । गिरिको केहि दिनअघि मात्रै निधन भयो।

एमालेले यो क्षेत्रबाट जन्मकैद फैसला सुनाइएका यादवलाई प्रतिनिधि सभाका लागि एकल उमेदवार सिफारिस गरेको छ । उनी पार्टीका मधेश प्रदेश कमिटी सदस्य पनि हुन् ।

२०६१ सालमा सिरहा जिल्ला अदालतले उनीमाथि प्रहरी जवानको हत्या गरेको भन्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

अदालतले सजायको आदेश सुनाएपछि फरार रहेका उनलाई प्रहरीले २०६९ सालमा पक्राउ गरेर अदालतमा बुझाएपछि जेल चलान गरिएको थियो ।

तर उनलाई २०७६ सालमा मन्त्री परिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएकी थिइन् । र उनी संविधान दिवसको अवसरमा आम माफी पाएर रिहा भएका थिए । उनै रामशंकर एमालेको एकल उम्मेदवार सिफारिस भएका छन् ।