एमालेले भन्यो: काठमाडौं ५ मा हाम्रा उम्मेदवारको चरित्रहत्या गरियो - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

एमालेले भन्यो: काठमाडौं ५ मा हाम्रा उम्मेदवारको चरित्रहत्या गरियो



काठमाडौं : नेकपा एमालले काठमाडौं क्षेत्र नं. ५(२) का प्रदेश सभा उम्मेदवार दीपक निरौला र बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएको छ।

शुक्रबार साँझ बूढानीलकण्ठ–६ स्थित एक घरबाट पैसा बाँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको घटनामा बिहीबार राति प्रतिक्रिया दिँदै एमाले निर्वाचन कमिटी काठमाडौं ५ ले आपत्ति जनाएको हो।

कमिटीले निकालेको प्रेस वक्तव्यमा पार्टीका शुभेक्छुक क्यान्सरपीडित तोक्तान लामालाई भेट्न गएको वेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाएको र नियन्त्रणमा लिएको उल्लेख छ।

‘कुनै तथ्य र प्रमाणविना गैरराजनीतिक कुरा गरी चरित्रहत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यो घटना गरिएको छर्लंग छ’, प्रेस वक्तव्यमा उल्लेख छ।

शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित ३ जनालाई हात्तीगौँडास्थित युरो स्कुल नजिकैबाट नियन्त्रणमा लिई महाराजगञ्ज वृत्तमा राखेको थियो। प्रहरीले उनीहरूलाई राति नै छाडेको छ।