अपराधमा जोडिएका सांसदलाई एमालेको संरक्षण - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

अपराधमा जोडिएका सांसदलाई एमालेको संरक्षण



काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी बुधबार साँझदेखि फरार छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी लिएपनि प्रहरीको घेराबाटै उनी फरार भएका छन् ।

गृहजिल्ला अर्घाखाँचीमा बुधबार आयोजित कार्यक्रममा रायमाझी सभामुख देवराज घिमिरेसँगै अतिथि थिए । त्यतिबेला उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत निरन्तर सम्पर्क गरेका थिए ।

उनी फर्किएलगत्तै नियन्त्रणमा लिने काठमाडौं प्रहरीको तयारी भएपनि प्रहरीलाई राजनीतिक रूपमा दवाव दिइएको खुलेको छ। काठमाडौं प्रहरीले रूपन्देही, कपिलवस्तु र अर्घाखाँची प्रहरीलाई पनि पक्राउ पुर्जीबारे जानकारी गराइसकेको अवस्थामा पनि उनलाई अर्घाखाँची र कपिलवस्तु प्रहरीले अवरोध गरेन ।

दिनभर सुरक्षा घेराबीच भएको कार्यक्रम सकेर रूपन्देही झरेपछि रायमाझी सम्पर्कविहीन भएका थिए । उपप्रधानमन्त्री भैसकेको व्यक्ति प्रहरीको सुरक्षा घेरामै हुनेगर्छ ।

अर्घाखाँचीको कार्यक्रम सकेर सँगै फर्केका सभामुख घिमिरे भने काठमाडौं फर्किएका छन् । नेपाल प्रहरीका एक अधिकारीले बुधबार साँझबाट रायमाझी सम्पर्कमा नरहेको र खोजी जारी रहेको जानकारी दिए ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा अनुसन्धान गरिरहेको प्रहरीले पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको बचाउ गरेका छन् । सिंहदरबार पुगेरै बिहीबार प्रधानमन्त्री दाहाललाई ओलीले यो घटना रहस्यमय रहेको भन्दै चुप लागेर नबस्ने चेतावनी समेत दिए।

एमाले अध्यक्ष ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसद रायमाझीलाई प्रहरीले बाटोबाटै समातेर हतकडी लगाउन खोजेको बताएका थिए । उनले पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हतकडी लगाउनु आवश्यक नरहेको बताए।

यसअघि पनि एमालेले हत्या आरोपमा पक्राउ पूर्जी जारी भएका सांसद लक्ष्मी महतो कोइरीको बचाउ गर्दै आइरहेको छ । एमाले अध्यक्ष ओलीकै संरक्षणमा उनी फरार भएको गाइगुइ छ ।