एमालेको निष्कर्ष: सर्वोच्च अदालतको आदेश गम्भीर र त्रुटिपूर्ण - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमालेको निष्कर्ष: सर्वोच्च अदालतको आदेश गम्भीर र त्रुटिपूर्ण



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेले सर्वोच्च अदालतको आदेश गम्भीर र त्रुटिपूर्ण भएको निष्कर्ष निकालेको छ । महाधिवेशन आयोजक कमिटीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई गम्भीर र त्रुटिपूर्ण भनेको हो।

आइतबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले त्यस विरुद्धमा आफूहरु भ्याकेटमा गएको बताए।

‘जेठ २७ गते सर्वोच्च अदालतले गरेको आदेश गम्भीर र त्रुटिपूर्ण हो भन्ने हाम्रो निष्कर्ष हो। त्यसलाई बदर गराउनका लागि हामी भ्याकेटमा पनि गइसकेका छौँ’, ज्ञवालीले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बारेमा उल्लेख छ। यो दलहरुको नितान्त आन्तरिक विषय हो।’

ज्ञवालीले दलहरुको आन्तरिक प्रबन्धलाई विल्कुल बेवास्ता गरेर जुन ढंगको आदेश आएको छ, त्यो त्रुटिपूर्ण भएको बताए। ‘त्यसको हामीले कानुनी प्रतिवाद गर्ने नै छौँ। गरिरहेका छौँ। तर, यति हुँदाहुँदै पनि अदालतको आदेश आइसकेपछि त्यसलाई मान्नु हाम्रो बाध्यता हो, कर्तव्य हो। त्यसलाई मानेर नै चल्छौँ। तर हामीलाई पूर्ण विश्वास छ। यस्तो कानुनभन्दा बाहिर गरिएको आदेश अन्तिम समयसम्म टिक्नेछैन’, उनले भने।

एमालेको महाधिवेशन आयोजक कमिटीले कर्णालीका सांसद्हरुलाई पार्टीबाट निस्कासित गरेकोमा सर्वोच्च अदालतले सो कमिटीको वैधतामा प्रश्न उठाउँदै अन्तरिम आदेशमार्फत् कारबाही खारेज गरिदिएको थियो।