एमालेको समानुपातिक सूचीमा रहेकी नेतृ नै कांग्रेसमा प्रवेश
नेकपा एमालेको समानुपातिक सूचीमा रहेकी नेतृ नै नेपाली कांग्रेसमा प्रवेश अग्रेकी छन् । मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।
महतो अखिल महिला संघको सचिवालय सदस्यसमेत थिइन् । उनलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।
सो अवसरमा महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेसी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेको कारण आफू असन्तुष्ट भएर एमाले परित्याग गरेको बताइन् ।
‘मुलुकमा सबैभन्दा बढी नागरिकताबिहीन मधेसमै छन् र अहिले मधेसको मुख्य मुद्दा पनि नागरिकता नै हो,’ उनले भनिन्, ‘तर, नागरिकता विधेयकलाई अड्काएर एमालेले मधेस र मधेसी जनतालाई धोका दियो, व्यक्तिगत रुपमा मलाई एमालेले समानुपातिक सूचीमा राखे पनि मधेस र मधेसी जनताका लागि एमालेले धोका दिइरहेका कारण त्यस्तो पार्टीमा रहिरहन सकिनँ ।’
उनले मधेसको पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको बताइन् । जनताको सुखदुःखमा साथ रहनु नै एउटा सच्चा नेताको जिम्मेवारी हुने भन्दै उनले त्यो प्रमाणित गर्न पनि आफू मधेसको पक्षमा उभिँदै कांग्रेसमा प्रवेश गरेको बताइन् ।
कांग्रेस सहमहामन्त्री यादवले महतोलाई कांग्रेसमा प्रवेश गरेकोमा बधाई दिँदै मधेसका मुद्दालाई थप सशक्त ढंगले उठाइने प्रतिबद्धता जनाए ।
जनकपुरधाम उपमहानगरपालिका २२ मा आयोजित कांग्रेसको घरदैलो अभियानका क्रममा महतोलाई सहमहामन्त्री यादवले पार्टीमा भित्र्याएका हुन् । करिब एक साता अघि एमालेबाट डा. संजिव यादव पनि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी एमाले नेता रघुवीर महासेठको प्रमुख सहयोगीमध्येका एक थिए ।