एमालेका दोस्रो तहका नेता- ‘अफर’ बोक्दै, खुमलटार धाउँदै
बाहिर माओवादीसँग कुनै सहकार्य नगर्ने दुहाई दिएको नेकपा एमालेले गठबन्धन तोडेर वाम गठबन्धन बनाउन भन्दै लगातार गोप्य छलफल गरिरहेको खुलेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा दोस्रो तहका नेताहरू लगातार प्रचण्ड निवासमा धईरहेको समेत खुलेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेताहरू लगातार संवादमा रहेको एमालेका दोस्रो तहका एक नेताले बताए । सत्ता गठबन्धनक दलहरू सरकार बनाउन लागिपरेका बेला एमालेका नेताहरूले सक्रिता बढाएको बुझिएको छ । एमालेका नेताहरुले प्रचण्डलाई फकाउन अफर समेत लिएर निवासमा पुग्ने गरेको माओवादीका केन्द्रीय सदस्य बताउँछन् ।
वाम गठबन्धन बनाउने, आधा-आधा कार्यकाल सरकार चलाउने लगायतका अफर लिएर एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराई लगायतका नेताहरुले प्रचण्डलाई गोप्य रूपमा भेटिरहेका छन् । बाहिर सरकारमा नजाने प्रचार गरिरहेको एमालेले भित्रभित्रै भने सत्ता गठबन्धन भत्काउने र सरकार बनाउने रणनीतिमा लागिरहेको छ ।
एमालेका ती नेताका अनुसार एमालेले सरकारमा नजाने भन्दै गरिरहेको चर्को प्रचार पी यहि रणनीति अन्तर्गत भएको बताए । बरु प्रचण्डलाई सरकारको नेतृत्व दिएर भएपनि एमाले सरकारमा जाने रणनीतिमा रहेको उनले स्वीकारे । त्यसै अनुरुप नै एमालेले प्रचण्डसँग गठबन्धन छोडेर सरकारको नेतृत्व गर्न अफर गरेको उनले बताए ।
सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनेमा संघदेखि प्रदेशसम्म एमाले सत्ता बाहिर हुने पक्का भैसकेको छ । यस्तो अवस्थामा एमाले नेताहरु सत्ता गठबन्धन भत्काउने र सरकारमा जाने रणनीति अनुसार अगाडी बढेको बुझिन्छ ।
यसको सुरुवात एमाले अध्यक्ष ओली आफैले गरेका थिए । निर्वाचन लगत्तै पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर शुभकामना दिँदै सहकार्यको प्रस्ताव समेत गरेका थिए । त्यसपछि प्रचण्ड निर्वाचित भए लगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताले समेत फोन गरेर शुभेच्छा प्रकट गरेका थिए ।
अहिले भने एमालेका नेताहरु लगातार खुमलटार पुगेर प्रचण्डसँग वाम गठबन्धन र सत्ता सहकार्यको प्रस्ताव गरिरहेका छन् । यस विषयमा एमाले स्थायी समिति सदस्य एवम् ओली निकट नेता राजन भट्टराईले प्रचण्डले कांग्रेससँगको गठबन्धन छोड्न तयार भए सहकार्य गर्न कुनै समस्या नहुने बताएका छन् ।
एमालेकै अर्का नेताका अनुसार वाम गठबन्धन गर्ने र सरकार बनाउने रणनीतिमा एमाले रहेको स्विकार्छन । राजनीतिक दल भएपछि सरकार बनाउन पछि हट्ने कुरा नहुने उनको तर्क छ । लोकप्रिय मतमा सबैभन्दा ठूलो दल भएकैले पनि एमाले सरकार बनाउन लाग्नु स्वबाविक भएको उनले बताए । सत्ता गठबन्धन छोडेमा एमाले प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्न तयार रहेको समेत उनले खुलाए ।
यस्तै माओवादीभित्र भने एमालेसँग मिल्ने र सत्ता गठबन्धन छोड्न नहुने दुई धार छ । केहि नेताहरूले कांग्रेसले धोका दिएको भन्दै बाम गठबन्धन बनाउनुपर्ने आवाज चर्काएका छन् । अर्काथरी भने सत्ता गठबन्धन विशेष परिस्थितिमा बनेकाले छोड्न नहुने तर्क गर्छन ।