एमालेका केन्द्रीय सदस्यसहित सयौँ जना एकीकृत समाजवादीमा प्रवेश - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

एमालेका केन्द्रीय सदस्यसहित सयौँ जना एकीकृत समाजवादीमा प्रवेश



काठमाडौं- नेकपा (एमाले)का वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौलासहित तमाम नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य एक, प्रदेश कमिटी सदस्य नौ, जिल्ला कमिटीका सदस्य ३० सहित विभिन्न तहका ३०० सय जना नेता नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले आइतबार सुनसरीमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरे । सो अवसरमा बोल्दै नेपालले सच्चा कम्युनिष्टहरू नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुने लहर चलेको बताउँदै वैकल्पिक शक्तिको रुपमा पार्टी स्थापित हुने बताए ।

पार्टी प्रवेश गर्दै निरौलाले महाधिवेशनमा पार्टीका गलत कामकारबाहीमाथि छलफल नभएको र पार्टी सच्चिएर सही मार्गदर्शनका साथ अघि बढ्ने विश्वाससमेत समाप्त भएकाले नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको बताए ।

यस्तै, पूर्वसांसद यादवबहादुर रायमाझीसहित पाल्पाका जिल्ला र गाउँ कमिटीसहित विभिन्न तहका ६७ जना नेता कमरेडहरूले शनिबार पत्रकार सम्मेलन गरेर नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएको घोषणा गरेका थिए । कमरेड रायमाझीले नवौँ अधिबेशनबाट पारित नीति, सिद्धान्त विपरित पार्टीलाई दक्षिणपन्थी अवसरवादको भासमा केपी शर्मा ओलीले डुबाउदै लगेको, माक्र्सवाद र लेनिनवादका मुलभूत सिद्धान्त परित्याग गरेको र पार्टी व्यक्तिवादी चिन्तनले ग्रसित अवस्था सिर्जना भएकाले नेकपा (एमाले) परित्याग गरेको बताएका छन् ।

केहीदिनअघि नेकपा (जनवादी) पार्टीका महासचिव देवसिंह महता नेतृत्वमा सिंगो पार्टी र त्यसका सवै ४५ जिल्ला कमिटी र सोही संख्यामा जनसंगठनका ११ हजारभन्दा बढी नेता तथा कर्यकर्ता र राष्ट्रिय जागरण परिषद, नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीको नेतृत्वमा अभियानका सबै सदस्य नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका थिए ।